भारतीय गाडीबाट नेपाल ल्याउँदै गरेको झण्डै २ करोड नेपाली नक्कली नोट बरामद

केन्द्रभाग मिडिया

विराटनगर ।

भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा राखेर नेपाल ल्याउँदै गरेको एक करोड ८२ लाख ५१ हजार नेपाली नक्कली नोट फेला परेको छ ।सुनसरीबाट प्रहरीले एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो ।

आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको सुनसरीका प्रहरी उपरीक्षक (एसपी)विपिन रेग्मीले जानकारी दिएका छन् । नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेको उनले बताएका छन् ।

सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो । शंकास्पद अवस्थाको स्कोरपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरु बरामद भएको हो ।

बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका छन् ।

गाडीमा सवार अर्का व्यक्ति भने फरार छन् । गाडी भारतबाटै आएको देखिएको प्रहरीले बताएको छ ।

  • २९ माघ २०८०, सोमबार ०९:४७ प्रकाशित