भुटानी शरणार्थी प्रकरण

गृहमन्त्रीलाई रविको प्रश्न : हाइप्रोफाइल अनुसन्धान दायरामा किन आएनन् ?

केन्द्रभाग मिडिया

काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भुटानी शरणार्थी प्रकरणबारे प्रश्न गरेका छन् ।

सभापति लामिछानेले आज बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने गिरोहले आरजु देउवा र मन्जु खाणको नाम लिएकोबारे प्रश्न गरेका हुन् । उनले सोधे,‘अडियो बाहिर आए अनुसारका हाइप्रोफाइल अनुसन्धान दायरमा किन आएनन् ?’

जवाफमा मन्त्री श्रेष्ठले अडियोमा नाम लिएका आइप्रोफाइलविरुद्ध ‘प्रमाण नभेटिएको’ जवाफ दिएका छन् । बैठकमा श्रेष्ठले भने,‘अडियोको आधारमा मात्र प्रमाण हुँदैन, तथ्य अहिलेसम्म आएको छैन ।’

दुईजनाको बिचमा अर्को व्यक्तिबारे भएको अडियो कुराकानीलाई प्रमाण मानेर मुद्दा चलाउन नमिल्ने श्रेष्ठको भनाई छ । उनले भने,‘त्यस्तो अडियोलाई प्रमाण मानेर मुद्दा चलाउँदा भोली के अवस्था आउला ?’

भुटानी शरणार्थी प्रकरणमा प्रहरी अधिकृतहरुले दोस्रो चरणको अनुसन्धान भइरहेको बताउँदै आएका छन् । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दोस्रो चरणको अनुसन्धानबाट ‘थप प्रमाण नआएको’ संसदीय समितिलाई जानकारी गराए ।

  • २८ माघ २०८०, आईतवार १६:५२ प्रकाशित