म्यानमार सेनामा युवालाई २ वर्ष सेवा अनिवार्य, नमान्नेलाई ५ वर्ष जेल

केन्द्रभाग मिडिया

यङ्गुन ।

म्यानमारको जुन्ता सरकारले सेनामा युवाहरूको सेवालाई अनिवार्य बनाएको छ । सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै रोयटर्सले आइतबार समाचार छापेको छ । देशका कयौँ स्थानमा सरकार र सशस्त्र विद्रोहीहरूबिच लडाई जारी छ ।

यी द्वन्द्वहरू नियन्त्रणमा ल्याउन अहिले सरकारलाई धौ धौ भइरहेको छ । सरकारी सेनाका जवानहरू भाग्ने प्रवृत्ति पनि देखिन थालेको छ । यस्तोमा १८ वर्षदेखि ३५ वर्षबिच सबै पुरुष र १८ देखि २७ वर्षबिचकी सबै महिलाले २ वर्षसम्म सेनामा भर्ती भएर देशको सेवा गर्नु पर्ने कानुन लागू गरेको छ ।

अहिलेको आपत्काल जारी नै रह्यो भने सेवाको अवधि बढाएर वर्ष पुर्याउन सकिने बताइएको छ । सन् २०२१ मा कु भएपछि निर्वाचित सरकार सत्तामा आएयता म्यानमारमा राजनीतिक अवस्था अस्तव्यस्त छ । तीन अल्पसङ्ख्यक सशस्त्र समूहहरूसँगको युद्धमा सेनाले ठुलो क्षति बेहोरिरहेको छ ।

सेनाको अभाव हुन थालेपछि सरकारसामु गैर–सैन्यहरूलाई समेत सेनामा समावेश गर्नुपर्ने स्थिति छ । देशको रक्षा गर्ने र बचाउने दायित्व सेनाको मात्रै नभएर सबै नागरिकहरूको पनि भएको सरकारका प्रवक्ताले सरकारी सञ्चारमाध्यममा भनेका थिए ।

म्यानमारले सन् २०१० मा नै सेनामा अनिवार्य सेवासम्बन्धी कानुन ल्याएको थियो । तर अहिलेसम्म सो कानुन लागू भने भएको थिएन । यो कानुन नमान्नेले ५ वर्षसम्म जेल सजाय पाउने छन् ।

  • २८ माघ २०८०, आईतवार १६:०७ प्रकाशित