सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्छ : सञ्‍चारमन्त्री शर्मा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्ने बताएकी छिन् ।

कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान)ले आयोजना गरेको ‘२९औँ क्यान इन्फोटेक’को बिहीबार उद्घाटन गर्दै उनले सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकतामा राखिएको बताइन् ।

सूचना प्रविधिको विकासबाट समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै मन्त्री शर्माले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनसँगै त्यसले मूर्तरुप लिने बताइन् ।

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्रमुख कार्यभारका रूपमा अघि बढाएको भन्दै उनले १६औँ आवधिक योजनामा सूचना प्रविधिलाई प्राथमिकतामा राखिएको बताइन् ।

सूचना प्रविधिसम्बन्धी रुपान्तरणकारी आयोजना सञ्चालन गरी मुलुकको अर्थतन्त्र सबल बनाउँदै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै मन्त्री शर्माले अब श्रमिक नभई सेवा निर्यात गर्ने मुलुकका रूपमा विकास गरिनुपर्ने बताइन् ।

मन्त्री शर्माले क्यान महासङ्घलाई आफ्नो सेवा क्षेत्रको दायरा विस्तार गर्न आग्रह गर्दै सरकारी र निजी क्षेत्रको सहकार्यबाटै सूचना प्रविधि क्षेत्रको विकास गर्न सकिने बताइन् ।

  • २५ माघ २०८०, बिहीबार १६:४३ प्रकाशित