पाकिस्तानमा निर्वाचनको पूर्वसन्ध्यामा विष्फोट , २२ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

कराँची ।

पाकिस्तानको बलुचिस्तान प्रान्तको पिसिन जिल्लाको खानुजई क्षेत्रमा भएको एक विस्फोटमा २२ जनाको ज्यान गएको छ । निर्वाचनको अघिल्लो दिनमा एक उम्मेदवारको निर्वाचन कार्यालय बाहिर भएको विस्फोटमा परेर सो सङ्ख्यामा ज्यान गएको हो ।

यस घटनामा ३० जना घाइते भएका छन् । अहिलेसम्म विस्फोटको कारण खुल्न नसकेको भन्दै बीबीसीले समाचार छापेको छ । क्वेटामा एक लेवी फोर्सका अधिकारीले बलुचिस्तान विधान सभा सीट पीबी–४७ पिशिनका स्वतन्त्र उम्मेदवार इसफन्दियार काकरको निर्वाचन कार्यालय बाहिर विस्फोट भएको पुष्टि गरेका छन् ।

बम विस्फोट हुँदा निर्वाचन कार्यालयबाहिर ठुलो सङ्ख्यामा मानिसहरू उपस्थित रहेको अधिकारीले बताएका छन् । घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । केही घाइतेहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

विष्फोट ठुलो भएकोले थप हताहत हुने सम्भावनालाई लेभिज फोर्सका अधिकारीहरूले अस्वीकार गरेका छैनन् । खानुजाई बलुचिस्तानको राजधानी क्वेटाबाट ४० किलोमिटर टाढा छ ।

पिसिन जिल्लाका अन्य केही क्षेत्रमा पनि बम विस्फोटका घटना भएका छन् । पाकिस्तानमा बिहीबार आम निर्वाचन हुँदैछ ।

  • २४ माघ २०८०, बुधबार १६:४४ प्रकाशित