पर्यटन बोर्डको रिक्त तीन पदमा १९ जनाको आवेदन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाल टुरिजम बोर्ड (एनटीबी) मा राजनीतिक नियुक्ति लिन पर्यटन व्यवसायीहरूको तीव्र प्रतिस्पर्धा चलेको छ । माघ २२ गतेदेखि रिक्त हुने तीन पद (बोर्ड सदस्य) का लागि १९ जना व्यवसायीहरूको आवेदन परेको छ ।

२०८० माघ २२ गते आफ्नो तीन वर्षे कार्यकाल पुरा गर्दै उपाध्यक्ष चन्द्र रिजालसहित सदस्यद्वय कृष्ण शाह र नवाङ मिया शेर्पा बोर्डबाट बाहिरिँदै छन् । सोही तीन पदका लागि हाल बोर्डमा नियुक्ति लिन व्यवसायीहरूको तीव्र दौडधुप चलिरहेको हो ।

निजी क्षेत्रका पर्यटन व्यवसायीहरू यतिखेर राजनीतिक शक्ति केन्द्र, पार्टी र तिनका नेताहरू, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्रधानमन्त्रीसम्म नियुक्तिको सिफारिस बोकेर पुगिरहेका छन् ।

बोर्ड सदस्य नियुक्तिमा हुन सक्ने सम्भावित चलखेललाई मध्यनजर गर्दै सरकारले यसपटक मन्त्रिपरिषद्बाट बोर्ड सदस्य छनोट गर्ने तयारीका साथ सिफारिस समिति गठन गरेको छ ।

तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव गोविन्द कार्कीको संयोजकत्वमा निजी क्षेत्रका दुई जना प्रतिनिधिसहित तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ ।

उक्त समितिले आवेदन परेका व्यवसायीहरूबाट सम्भावित ५ जनाको नाम छनोट गरेर मन्त्रिपरिषद्मा पठाउनेछ । सोही ५ जनाबाट मन्त्री परिषद्ले तीन जनालाई बोर्ड सञ्चालक समिति सदस्यको रूपमा नियुक्त गर्नेछ ।

  • २१ माघ २०८०, आईतवार १५:३३ प्रकाशित