मुग्लिन–पोखरा सडक विस्तार

सवारी आवागमन सहज हुने गरी सडक विस्तारलाई तिव्रता दिन मन्त्री ज्वालाको निर्देशन

केन्द्रभाग मिडिया

पोखरा ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विस्तारका क्रममा सार्वजनिक सवारी साधनको सहज आवागमनमा पनि ध्यान दिन निर्देशन दिएका छन् । शुक्रबार पृथ्वी राजमार्ग (मुग्लिन–पोखरा सडकखण्ड)विस्तारको काम निरीक्षणका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

सडकको दुवैतर्फ खाल्डाखुल्डी बनाएर सवारी आवागमन नै समस्या पार्ने गरी भइरहेको कामप्रति भने उनले असन्तुष्टि पोखे । ‘सबै लेन एकैपटक सकौं भन्ने पनि होला, तर, कामलाई तिव्रता पनि दिनुहोस् । एकतर्फको लेन क्लियर गरेर सवारी साधनलाई सहज आउजाउ गर्ने वातावरण पनि बनाउनुहोस् । त्यसो गर्दा सर्वसाधारण चढ्ने सवारी साधनको सहज आवागमन पनि होस् र काम पनि अगाडि बढोस्’

भौतिक मन्त्री ज्वालाले पछिल्लो समय कामको गति बढेको भन्दै सन्तोष व्यक्त गरेका छन् । निरीक्षणमा मन्त्रीसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, निर्माण आयोजनाका पूर्वी खण्ड र पश्चिम खण्डका आयोजना प्रमुख लगायत सहभागी थिए।

पछिल्लो साढे २ वर्षदेखि सुस्त गतिमा भइरहेको बाटो विस्तारका कारण यात्रु मात्रै होइन्, स्थानीय बासिन्दासमेत आजित छन् । पोखरा–मुग्लिन खण्ड २ भागमा बाँडेर विस्तारको काम चिनियाँ कम्पनीले गरिरहेका छन् ।

मुग्लिनदेखि तनहुँको जामुनेसम्म ४१ किलोमिटर पूर्वी खण्डमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले २०७७ वैशाखदेखि काम गरिरहेको छ भने जामुनेदेखि पोखरासम्म पश्चिम खण्ड चीनकै यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ०७८ भदौदेखि विस्तारको काम गरिरहेको छ ।

२ खण्डमा बाँडेर काम भइरहेको सडक विस्तारमा सबैभन्दा सुस्त गति पश्चिम खण्डमा छ । जामुनेदेखि पोखरासम्मको पश्चिमखण्डमा हालसम्म १४.५ प्रतिशत भौतिक प्रगति भएको पश्चिमखण्डका आयोजना प्रमुख राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार पश्चिमखण्डमा सडकको बीचमा रहेका केही विजुलीका पोल, रुखविरुवा तथा घरटहरा पूरा ‘क्लियर’ हुन नसक्दा कामको गतिमा अवरोध भइरहेको छ । उनका अनुसार अझै ३० प्रतिशत घर टहरा आयोजना स्थलबाट हट्न सकेका छैनन् ।

भूगोलको बनावटअनुसार २१ देखि ४५ मिटरसम्म फराकिलो बनाउने गरी एसियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण सहयोगमा राजमार्ग विस्तार भइरहेको हो ।

४२ महिनाभित्र काम सक्ने गरी राजमार्ग विस्तारको जिम्मा अनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कम्पनीले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का पाएको छ । उक्त सडकखण्डको म्याद ०८१ भदौमा सकिँदैछ ।

मुग्लिनदेखि तनहुँको जामुनेसम्म ४१ किलोमिटर पूर्वी खण्डमा भने हालसम्म ४५ प्रतिशत काम सकिएको आयोजना प्रमुख श्याम यादवले जानकारी दिए । पूर्व खण्डका लागि माघ २०७७ मा ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो ।

  • ५ माघ २०८०, शुक्रबार १५:१३ प्रकाशित