३ केजी चरेससहित एम्बुलेन्स चालक पक्राउ

केन्द्र खबर

धनगढी ।

धनगढीबाट झण्डै ३ किलो चरेशसहित एम्बुलेन्स चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बझाङको केदारस्यु गाउँपालिका–३ बस्ने ३७ वर्षीय रामबहादुर खाती रहेका छन् ।खातीले चलाएको सुपप्र ०१००१ झ ०५४२ नम्बरको बझाङको रायल प्राथमिक स्वास्थ्य चौकी देउराको एम्बुलेन्सलाई शंकाका आधारमा चेकजाँच गर्दा २ किलो ८ सय ग्राम लागुऔषध चरेस भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले बताए ।

पक्राउ परेका चालक र एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २५ मंसिर २०८०, सोमबार १६:२० प्रकाशित