सरकार चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा छ : मन्त्री बस्नेत

केन्द्रभाग मिडिया

चितवन ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा सरकार लागेको बताएक छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले मन्त्रिपरिषद्मा संशोधनका विषयमा छलफल भइरहेको बताए ।

चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले गर्दा नेपालमा मेडिकल शिक्षा जुन ढङ्गले अघि बढ्नुपर्ने हो त्यो ढङ्गले अघि बढ्न नसकेको उनको भनाइ थियो । उनले भने, ‘संशोधनका विषयमा प्रधानमन्त्री ज्यू तयार हुनुहुन्छ । क्याबिनेटमा समेत यसका विषयमा छलफल अब सुरु हुन्छ ।’ अहिलेसम्म ऐन संशोधनका विषयमा दुईपटकसम्म बैठक भइसकेको र संशोधनको प्रक्रियामा अघि बढेको उनले जानकारी दिए ।

चिकित्सा शिक्षा ऐनका कारण देशमा आगामी पाँच वर्षमा चिकित्सक तथा स्वास्थ्य प्राविधिकको समस्या हुने देखिएकाले संशोधन गर्न लागिएको उनले बताए । यो ऐनलाई संशोधन गरेर गुणस्तरीय शिक्षा र शुल्क निर्धारण गर्ने कुरा कार्यविधि बनाएर सरकारले अनुगमन गर्ने कुरा गर्नुपर्ने उनले बताए । अहिलेको शिक्षा नीति केही खुकुलो हुनुपर्ने उनको भनाइ थियो ।

  • २५ मंसिर २०८०, सोमबार १५:१७ प्रकाशित