पोखरा सडक महोत्सवको टिकट अनलाइनबाट लिदाँ सस्तो

केन्द्रभाग मिडिया

पोखरा ।

अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकीय नगरी पोखरामा आयोजना हुने ‘२५ औं पोखरा सडक महोत्सव’मा अनलाइनबाट टिकट काट्न सकिने भएको छ । महोत्सव पुस १२ गतेदेखि १६ गतेसम्म अर्थात् २८ डिसेम्बरदेखि १ जनवरीसम्म चल्ने छ ।

महोत्सव आयोजनाको २५ औं वर्षको अवसर पारेर पहिलो पटक आयोजकले अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरेको हो ।

साँस्कृतिक कार्यक्रमका लागि खल्ती एपबाट टिकट काट्न मिल्ने व्यवस्था मिलाइएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । खल्ती एपसँगै विदेशी कार्डहरुबाट पनि आफन्त तथा साथीभाइका लागि टिकट काट्न सकिने अध्यक्ष भट्टराईले बताएका छन् । दर्शकले कार्यक्रम आयोजना हुने स्थानबाट सोझै टिकट काट्दा मूल्य बढी लाग्ने तर अनलाइनबाट टिकट काट्दा केही सस्तो हुने उनको भनाइ छ ।

साँस्कृतिक कार्यक्रममा चर्चित कलाकारको प्रस्तुति

महोत्सवमा सहभागी हुन पोखरा आउने पर्यटकहरुले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथै फरक–फरक समुदायका खानाको स्वाद पनि लिन पाउने छन् ।

महोत्सवमा हुने सांस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुती रहने छ । कार्यक्रम सञ्चालन रीमा विश्वकर्माले गर्नेछिन् ।न्यू इयर इभमा ¥यापर लाउरे र द एलिमेन्ट्स ब्यान्डको प्रस्तुति हुनेछ भने डिसेम्बर ३० तारिखमा मुक्ती एन्ड रिभाइबल ब्यान्डको प्रस्तुति रहनेछ ।

यस्तै, डिसेम्बर २९ तारिखमा ‘ओ अमिरा’ तथा ‘मन मगन’ फेम गायक दीपक बज्राचार्यले दर्शकलाई झुमाउनेछन् ।उनीहरुको साथमा लक्ष्य ब्यान्ड, द स्क्राच जर्नी, टुकी, ब्ल्याक फिदर लगायतका चर्चित ब्यान्ड र गायकहरुले पनि आफ्नो प्रस्तुति दिनेछन् ।

रेवान अध्यक्ष नरेश भट्टराईले यो पटक महोत्सवको रजत वर्ष भएकाले विगतको भन्दा विशेष हुने बताए । ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नारालाई सफलताका साथ व्यवस्थित रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने उनले बताए ।

  • २४ मंसिर २०८०, आईतवार ११:१९ प्रकाशित