मन्त्रिपरिषद पुनर्गठन गर्ने कुरा सोचिएको पनि छैन : प्रधानमन्त्री प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रीमण्डल पुनर्गठनको विषयमा आफूले नसोचेको बताएका छन् । आइतबार युएई भ्रमण सकेर स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले पुनर्गठनबारे गठबन्धनभित्र छलफल नै नभएको समेत स्पष्ट पारेका हुन् ।

उनले मन्त्रीमण्डल पुनर्गठन बाहिर हल्ला फिँजाउनका लागि मात्रै भएको बताए । उनले भने, ‘सरकार गठन भएको बेलादेखि नै मन्त्रीमण्डल पुनर्गठन हुन्छ । को मन्त्री हट्छ, को आउँछ, गृहमन्त्री हट्ने भन्ने कुरा धेरै भयो । तर अहिले कुनै त्यस्तो हामीले गठबन्धन भित्र छलफल पनि छैन, कुरा पनि छैन, सोचिएको पनि छैन, म आफैँ प्रधानमन्त्री छु, मेरो दिमागमै छैन । त्यसकारण यो कुरा हल्ला मात्रै हो, सत्यता छैन ।’

आफ्नो दुबई भ्रमणका क्रममा दुबई जानबाट वञ्चित भएका ३१ जना यात्रुहरू छुटेकोप्रति प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गरे । आफूलाई दुई घण्टा अघि सार्दा यात्रुहरू छुट्छन् भन्ने जानकारी भए तोकिएको समयमै आफू जाने उनले बताए । ‘यदि मलाई दुई २ घण्टा अघि सारिँदैछ र त्यसो गर्दा ३१ जना यात्रु छुट्दैछन् भन्ने थाहा भएको भए म दुई घण्टा छिटो जाँदिन थिएँ, जुन समय हो त्यही समयमा जान्थेँ । उहाँ पुगेपछि मेरो कारणले दुई घण्टा छिटो ल्याउन खोज्दा छुटेको भन्ने थाहा पाएँ’ उनले भने ।

 

  • १७ मंसिर २०८०, आईतवार २०:३७ प्रकाशित