निर्माणमा बेथितिको उदाहरण प्रदेश राजधानी पोखराको फिर्के पुल

निर्माणका लागि तेस्रो पटक म्याद थप, दुई वर्षमा सकिनुपर्ने पुल पाँच वर्ष सकिँदा पनि बल्ल २५ प्रतिशत निर्माण सम्पन्न

गोविन्द सुवेदी

पोखरा ।

गण्डकी प्रदेशको राजधानी पोखराको फिर्के माथि भूपि शेरचन राजमार्गमा चार लेनको पुल निर्माण गर्न ठेक्का लागेको पाँच वर्ष पुरा भएको छ । उक्त पुल दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी ८ असोज २०७५ मा सम्झौता भएको हो ।

सम्झौता अनुरुप ३० चैत २०७७ मा नै पुल निर्माण भइसक्नु पर्ने हो । तर, उक्त पुलको भौतिक निर्माण कार्य हालसम्म जम्मा २५ प्रतिशत मात्र भएको सडक डिभिजन कार्यालय पोखराले जानकारी दिएको छ । प्रदेश राजधानी पोखरामै सडक अनुरुपको पुल निर्माण लागि ठेक्का लागेको पाँच वर्ष पुग्दा समेत देखिने काम नहुँदा पुल निर्माण परियोजना विकास निर्माणमा बेथितिको उदाहरण बन्न पुगेको छ ।

सडक डिभिजन कार्यालय पोखराकी इन्जिनियर सहनशीला कायस्थका अनुसार पुल निर्माणका लागि तेस्रो पटक म्याद थप भइसकेको छ । अब चालु आर्थिक वर्षको अन्तिम अर्थात अगामी असारसम्म पनि पुल निर्माणको काम नसके निर्माण कम्पनीलाई जरिवाना गर्ने वा कालो सूचिमा राख्नुको विकल्प नरहने उनले बताइन् । ‘यो पुलको समस्य निकै क्रोनिक भयो । तीन पटक म्याद थप भइसकेको छ । अब पनि तोकिएको समयमा निर्माण सम्पन्न नभए निर्माण कम्पनीलाई जरिवाना गर्ने वा कालो सूचिमा राख्नुको विकल्प छैन’ उनले भनिन् ।

इन्जिनियर कायस्थले संघीय कानून र नियमावली अनुरुप निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्ने कार्य भएपनि प्रगति नभएको सुनाइन् ।

पुल निर्माणको जिम्मा शान्ति आरोग्य जेभी सानेपा, ललितपुरले पाएको हो । हाल रहेको पुलको तल्लो र माथिल्लो भाग तर्फ २/२ लेनको पुल निर्माण गर्ने ठेक्का पाएको उक्त कम्पनीले विभिन्न बहाना देखाउँदै निर्माण अबधी थप्ने गरेको छ ।

निर्माण कम्पनीका परियोजना निर्देशक सुमन पौडेलले लामो समयसम्म मुआब्जा नटुंगिएको, कोरोना संक्रमण र काम गरेका पैसा समेत भुक्तानी नपाएको समस्या सुनाए । हाल रहेको पुलको तल्लो तर्फ साइड क्लियर भएपनि माथिल्लो तर्फ भने अझै समस्या रहेको उनले जानकारी दिए ।

निर्माण कम्पनीलाई मात्र दोष दिन नहुने र काम गर्ने वातावरण पनि बनाइनुपर्ने उनले टिप्पणी गरे । ‘बाहिरबाट हेर्दा निर्माण कम्पनीलाई मात्र दोष दिइन्छ । मुआब्जाको काम बल्ल पोहोर असोजमा टुंगिएको हो । अझैपनि साइड क्लियर छैन । खानेपानीको पाइप र सिंचाईको पाइप क्लियर गर्नुपर्नेमा त्यो हुन सकेको छैन । हाम्रो लेवरहरु काममा रहेका बेला लेवर माथि नै माथिबाट कयौंपटक फोहोर फालिएका छन् । काम गरेको पैसा पनि गत चैत देखि भुक्तानी भएको छैन’ उनले भने ।

निर्माण कम्पनीका परियोजना निर्देशक पौडेलका अनुसार निर्माण कम्पनीले तल्लो भागको पुल असारसम्ममा सक्ने लक्ष्य लिएको छ । ‘असारसम्ममा तल्लो तर्फको पुल सकेर त्यहाँ गाडी गुडाउने अनि माथिल्लो भागमा काम अगाडि बढाउने योजना हो । माथि तर्फ साइड क्लियर गरेर काम गर्ने वातावरण नबनेसम्म यत्तिकै भन्ने स्थिति छैन’ उनले भने ।

सडक डिभिजन कार्यालय पोखराका अनुसार उक्त पुल नेपालमै पहिलोपटक पाइलको सपोर्टमा केवल हालेर टावर टाइपको स्पेसल एक्स्ट्रा डोज मोटरेवल पुल निर्माण गर्नेगरी सम्झौता भएको छ । कंक्रिट ग्रिडर र पाइल फाउण्डेसन गरेर निर्माण गरिन लागेको यो पुल स्पेसल एक्स्ट्रा डोज मोटरेवल पुल हो । माछापुच्छ्रे हिमालसहित अन्य हिम श्रृंखलासमेत देखिने भएकाले यस्तो डिजाइनमा पुल बनाउन लागिएको कार्यालयकी इन्जिनियर  कायस्थले जानकारी दिईन् ।

उक्त पुल निर्माणको लागत भ्याटसहित १२ करोड ३२ लाख २६ हजार १७६ रुपैयाँ रहेको छ । निर्माण कम्पनीलाई अहिलेसम्म २० प्रतिशतको हाराहारी भुक्तानी भइसकेको छ ।

  • १७ मंसिर २०८०, आईतवार १९:५३ प्रकाशित