सञ्चार सहकारीको १२ औं साधारणसभा सम्पन्न

केन्द्रभाग मिडिया

 

पोखरा ।
सञ्चार वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा प्रमुख अतिथिको रुपमा  सहकारीका जेष्ठ सदस्य सुवेदार मेजर यामबहादुर रानाले पानसमा दिप प्रज्वलन गरी कार्यक्रको उद्घाटन गरेका हुन् ।

पोखराको न्यूरोड स्थित सहकारीको आफ्नै भवनमा सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष विनोद ढुंगानाले पछिल्लो समय केही सहकारीमा देखिएको वित्तिय संकट र व्यवस्थापकीय कमजोरीले सहकारी प्रति आम बचतकर्ताको धारणा बदलिएको बताए । उनले त्यसको प्रत्यक्ष र अप्रत्यक्ष असर संस्थामा देखिए पनि सञ्चालक समितिको व्यवस्थापकीय कौशलका कारण कठिन र चुनौतिपूर्ण समयलाई पार लगाएर शेयर सदस्य र बचतकर्ताको बचतलाई सुरक्षित गर्न सफल भएको बताए ।

उनले भने, ‘हामीलाई शेरयसदस्य र बचतकर्ताको निकै ठूलो साथ र भरोसा मिल्यो, हामीप्रति उहाँहरुको विश्वास र उहाँहरु प्रति हामी जिम्मेवार भएकै कारण संस्थाले नियमित कारोबार गरिह्यो र कुनै पनि बचतकर्ता निराश हुनुपरेन ।’ सबैको साथले सञ्चारले आफ्नो गरिमा जोगाउन सफल भएको जनाउँदै उनले  संस्थालाई अझ मजबुत बनाउन आगामी आ।व देखि सञ्चालक र व्यवस्थापकले ऋण सुविधा लिन नमिल्ने व्यवस्था गरिएको पनि जानकारी दिए ।

जिल्ला सहकारी संघ कास्की सञ्चालक  धनराज पूरीले सहकारीले नीति नियम भित्र रहेर कारोवार गर्दा समस्या भोग्नु नपर्ने भन्दै सञ्चालक देखि बचतकर्ता शेयर सदस्य सबैले आर्थिक अनुशासनलाई पालना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सञ्चालक सचिव पवित्रराज तिवारीले आगामी कार्ययोजना सहितको प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्ष युवराज खनालले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

त्यसैगरी लेखा समितिको वार्षिक प्रतिवेदन संयोजक गणेश पराजुलीले प्रस्तुत गरेका थिए । सो अवसरमा सहकारीमा कार्यरत बजार व्यवस्थापक सनम नेपालीलाई उत्कृष्ट कर्मचारीको रुपमा नगद पाँच हजार सहित सम्मान गरिएको थियो । संस्थामा ४ सय ५४ शेर सदस्य रहेका छन् भने शेयर पुँजी ८ करोड ५६ लाख २५ हजार रहेको व्यवस्थापक रेशम खड्काले जानकारी दिए ।

 

 

  • १७ मंसिर २०८०, आईतवार १७:०२ प्रकाशित