स्टेप वाई स्टेप मा.वि. मा खेलकुद प्रतियोगिता

केन्द्रभाग मिडिया

पोखरा ।
स्टेप वाई स्टेप मा.वि. मासवार पोखराको चालु शैक्षिक सत्रको ३५ औँ वार्षिक खेलकुद प्रतियोगिता आज विशेष समारोह बिच सुरु भएको छ । विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालको सभापतित्वमा संञ्चालित शुभारम्भ कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले विद्यालयका खेलकुद शिक्षक इच्छा गुरुङ्गलाई फुटवल लगायत खेलकुद सामग्रीहरु हस्तान्तरण गरी उक्त दुई दिवसीय खेलकुद प्रतियोगिताको उद्घाटन गरेका थिए ।
प्रतियोगिताको पहिलो दिन भलिबल, टेवल टेनिस, टग अफ वार (डोरी तान्ने खेल), म्युजिकल चियार, चम्चा दौड, बेलुन फुटाई, मिठाई दौड आदि प्राराम्भिक चरणका खेलहरु सम्पन्न भएका थिए । अइतबार सम्पन्न छात्रा भलिवलमा न्युटन हाउस प्रथम हुन सफल भएको थियो भने ग्यालिलियो हाउस द्वितीय भएको थियो । छात्रा वास्केट बलमा न्युटन सदन प्रथम हुन सफल भएको थियो भने आइन्स्टाइन सदनले द्वितीयमा चित्त बुझाउनु पर्यो ।
छात्र बास्केटबलमा मर्कोनी सदन प्रथम भयो भने ग्यालिलियो सदन द्वितीय भएको थियो । सबै खेलहरु सदनात्मक रुपमा खेलाइएको थियो । उद्घाटन मन्तव्य व्यक्त गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले खेलकुदको महत्वमाथि प्रकाश पार्दै नेपालीले आफूलाई खेलकुद मार्फत विश्वमा धेरै ठुला सम्पन्न देशहरुलाई समेत पछाडि पारी परिचित बनाउन सफल भएको र यस विद्यालयले उत्पादन गरेका विद्यार्थीहरु राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीका रुपमा विभिन्न क्लवहरुमा अनुवन्धित हुन सकेको कुरा समेत व्यक्त गरे।
विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले विद्यालयले स्वास्थ्यका लागि खेल भन्ने उद्गारलाई मनन गर्दै विद्यार्थीहरुलाई खेलकुदको माध्यमबाट स्वास्थ बनाउन सकिने कुरामा जोड दिए।
विद्यालयमा पढाइको साथसाथै खेलकुदको पनि ज्यादै महत्व भएकाले वर्षभरी नै समय तालिका बनाएर खेलकुद सञ्चालन गर्दै आएको र विद्यार्थीहरुको खेलकुदको सीपलाई अभिवृद्धि गर्ने हिसावले यस किसिमको खेलकुद प्रतियोगिताको आयोजना गरिएको हुनाले सम्पूर्ण विद्यार्थीहरुलाई अनुशासित भई खेलहरुमा संलग्न हुन निर्देशन गरे।
कार्यक्रममा विद्यालयका सह—प्राचार्य दिपक गिरीले स्वागत मन्तव्य र विद्यालयका कोर्ओडिनेटर सूर्य प्रसाद लम्सालले समेत आफ्ना भनाइहरु राखेका थिए ।
विद्यालय प्राङ्गणका साथै मालेपाटन खेलकुद मैदानमा प्रतियोगिताका खेलहरु संचालन गरिएको थियो । उक्त प्रतियोगितामा विद्यालयका खेलकुद शिक्षक इच्छा घलेको संयोजकत्वमा विभिन्न शिक्षकहरुद्धारा खेलहरु खेलाउने र प्रतियोगितामा खेलका विभिन्न चरणहरु दुई दिनसम्म संञ्चालन भई यही मंसिर १८ गते सोमबार सम्पन्न हुने कुरा प्रतियोगिताका सह—संयोजक शिक्षक रामचन्द्र शर्माले जनाएका छन् ।
  • १७ मंसिर २०८०, आईतवार १६:३५ प्रकाशित