पार्टी भित्रै आलोचना गर्ने नेतालाई देउवाको जवाफ, ‘धेरै नबोल्ने तर, काम गर्ने मान्छे हुँ’

केन्द्रभाग मिडिया

बुटवल ।

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई पुनः प्रधानमन्त्रीको दौडमा आगाडि नबड्न आग्रह गर्ने नेताहरुलाई जवाफ दिएका छन् । नेपाली कांग्रेस लुम्बिनीको अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले जवाफ दिएका हुन् । सभापति देउवाले पार्टीलाई बलियो बनाउन अब भाषणले नचल्ने र काम गर्नुपर्ने जवाफ दिए । आफू भाषणमा भन्दा पनि काममा विश्वास गर्ने मान्छे भएको उनको टिप्पणी छ।

आफूभन्दा अघि बोल्ने कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीसहित पार्टीका अन्य नेताले समेत पार्टी एकताबद्ध नभएको, गुट र उपगुट बनेको, कार्यकर्तामा निराशा छाएको र अब पनि प्रधानमन्त्रीको दौडमा अगाडि नबढ्न आग्रह गरेका थिए । देउवाले उनीहरुको पार्टी भाषणले नचल्ने र काम गरेर देखाउनु पर्ने जवाफ फर्काएका हुन् ।

‘चन्द्र भण्डारीजीले भनिसक्नु भयो, पार्टी एकताबद्ध भएन, राम्रो काम भएन,’ उनले भने, ‘पार्टी भाषणले चल्दैन, अब तपाईंको पालो आउँदैछ, राम्रो बनाउनु होला, भाषण अनुसार काम पनि गर्नुहोला ।’ आफू कम बोल्ने तर काम बढी गर्ने नेता भएको देउवाको दाबी छ ।

‘म त कम बोल्ने मान्छे हुँ, थाहै छ,’ उनले भने, ‘कम बोल्ने, धेरै काम गर्ने विचार छ, हेरौं के हुन्छ?’

देउवाले पार्टी एकताबद्ध र बलियो भएर अघि बढ्ने विश्वास पनि व्यक्त गरे। देउवाले लुम्बिनी बुद्ध जन्मेको स्थान भएको र बुद्धकै उपदेश विश्वभर फैलिएको भन्दै उनले बुद्धकै स्थलमा भएको लुम्बिनी प्रदेश सम्मेलनले पार्टीलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गरे।

 

  • १६ मंसिर २०८०, शनिबार २२:२२ प्रकाशित