बेगनासमा मोटरबोट सञ्चालन रोक्न स्थानीय जलारीको माग

विना अनुमति सञ्चालन भएको मोटरबोट सञ्चालनमा रोक लगाउँछौं : मेयर आचार्य

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको बेगनास तालमा सञ्चालित मोटरबोट रोक्न स्थानीय जलारी समुदायले माग गरेका छन् । मोटरबोटका कारण आफूहरुको जिविकोपार्जनमा समस्या आएको भन्दै तत्काल मोटरबोट सञ्चालनमा रोक लगाउन उनीहरुले पोखरा महानगरपालिकासंग माग गरेका हुन् । महानगरका प्रमुख धनराज आचार्यलाई आइतबार मत्स्य व्यवसायी समितिको नाममा दिइएको ज्ञापन पत्रमा आफूहरुको मार्ने पेशा नै संकटमा परेको उनीहरुले उल्लेख गरेका छन् ।

स्थानीय ५४ जलारी घर परिवारका २५० जनाले माछा मारेरै जिविकोपार्जन गर्ने गरेको जानकारी दिँदै उनीहरुले तीव्र बेगमा चल्ने मोटरबोटका कारण पानीको छाल किनारामा आउँदा बस्न नै समस्य रहेको र तालको किनारमा पहिरो गई घरहरु नै जोखिममा परेको बताएका छन् ।

मोटरबोटका कारण माछा उत्पादनमा कमि आएको उनीहरुले उल्लेख गरेका छन् । स्थानीय माछाको अण्डा छाडेर ब्रिडिङ गर्ने बेला पानीको छालले माछाको अण्डा विगर्ने हुँदा स्थानीय माछा नै लोप हुने अवस्था रहेको उनीहरुले औंल्याएका छन् ।

सथानीय राजेन्द्र जलारीले आफूहरुको पेशा नै संकटमा परेपछि बाध्य भएर मोटरबोट रोक्नका लागि महानगरसंग हारगुहार गर्नुपरेको बताए । उनले ठूलो मोटरबोटले छाल उछाल्दै बढ्दा आफूहरुका साना डुंगा समेत लड्ने हुँदा ज्यान गुमाउनुपर्ने जोखिम आएको बताए । ‘मोटरबोटले हामीलाई उठिबास लगाउने देखियो ।  माछा मारेरै जिविकोपार्जन गर्दै आएका हामीलाई तत्काल मोटरबोट सञ्चालनमा रोक लगाएर न्याय दिनुपर्छ’ उनले भने, ‘कुनै सिमित व्यक्तिको फाइदाका लागि हाम्रो पेशा र जिवनलाई नै संकटमा पार्न पाइएन ।’

गत जेठमा उक्त मोटरबोट सञ्चालनमा ल्याउँदा नै विवाद भएको थियो । महानगरसंग अनुमति नलिइकन मोटरबोट सञ्चालनमा ल्याइएकाले तत्काल रोक्न महानगरले दिएको निर्देशनलाई अटेर गर्र्दै डुंगा सञ्चालनमा ल्याइएको हो ।

जलारीहरुले दिएको ज्ञापनपत्र बुझ्दै महानगरका प्रमुख धनराज आचार्यले समस्या सामाधान गरिने बताए । बेगनास तालमा मोटरबोट सञ्चालनको अनुमति महानगरको तर्फबाट नदिइएको र कानून विपरित चल्न नदिइने प्रष्ट पारे । ‘अनधिकृत रुपमा मोटरबोट चालाउँदा तालको बाँध र बस्ती दुबै जोखिममा पर्नुका साथै स्थानीयको जिविकोपार्जनमै समस्या आएको कुरा महानगरले हेरेर बस्दैन ।

सुरुमा अनधिकृत रुपमा नचलाउ भन्दा इन्जिन सेट गरेपछि हामी व्यवसायिक रुपमा चलाउँदैनौं । आवश्यक परेको बेला रेस्क्युमा प्रयोग गछौं भनियो । अहिलेपनि व्यवसायिक रुपमा चलाइएको छ । त्यसलाई हामी जुनसुकै हालतमा रोक्छौं’ उनले भने ।

  • १० मंसिर २०८०, आईतवार २१:५२ प्रकाशित