भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसले २५ वटा टोली खटाउने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन २५ वटा टोली खटाउने भएको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले २५ वटा दक्ष जनशक्तिको टोली परिचालन गर्ने निर्णय गरेको हो ।

कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले १०–१० जनाको रहने गरी २५ वटा टोली भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठाउने रातोपाटीलाई बताए । उनका अनुसार बैठकको सुरुमा उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले भूकम्प प्रभावितका लागि सरकारले हालसम्म गरेका कार्यको ब्रिफिङ गरेका थिए ।

सरकारले अनुदान रकम दिएपनि अस्थायी टहरा बनाउन जनशक्तिको अभाव देखिएको उनको भनाइ थियो । भूकम्प व्यवस्थापन सहजीकरण समितिको बैठक मंगलबार बसेर थप निर्णय गरिने उनको भनाइ छ । ‘२५ वटा टोली पठाउनेबारे भोलि पार्टी कार्यालय सानेपामा अभिमुखीकरण तालिम दिन्छौं । त्यसका लागि भोलि ११ बजे पार्टी कार्यालयमा तालिम गराउँदै छौं ।’

अस्थायी आवास बनाउन नेविसंघ–तरुण दलबाट स्वयंसेवक, इन्जिनिरिङ एशोसिएसनबाट इन्जिनियर, ट्रेड युनियनबाट मिस्त्री लिने उनले बताए । उनीहरु करिब एक साता बसेर प्रत्येकले आ–आफ्नो क्षेत्रमा घर बनाएर फर्किने विश्वकर्माले बताए । त्यसपछि फेरि नयाँ टोली पठाउने उनको भनाइ छ ।

  • ४ मंसिर २०८०, सोमबार १६:१९ प्रकाशित