अनुदानको मलमै कालाबजारी !

पोखरामा २१ रुपैया सम्ममा विक्री गर्नुपर्ने मल ४० रुपैयाँमा विक्री गरेको पाइयो, ५ वटा पसललाई कारबाहीको सिफारिस

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा कृषकलाई १९ देखि २१ रुपैयाँ सम्ममा उपलब्ध हुनुपर्ने रासायनिक मल त्यसको दोब्बरसम्म मूल्य लिएर विक्री गरेको पाइएको छ । सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल ४० रुपैयाँसम्म लिएर विक्री वितरण गरेको भेटिएको हो ।

पोखरा ५ मालेपाटनमा रहेको कोइराला कृषि सामग्री भण्डारले अनुमति नलिइकन ४० रुपैयाँ प्रतिकिलोका दरले युरिया मल विक्री गरेको भेटिएको पोखरा महानगर कृषि महाशाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।

रासायनिक मल तथा विषादी बिक्री वितरणको अनुमतिसमेत नलिएका व्यवसायीले किसानलाई अनुदानको मलमा कालोबजारी गरेको भेटिएको उनले बताए । ‘पोखरामा रासायनिक मलमा कालोबजारी भएको गुनासो आएपछि हामीले अनुगमन गरेका थियौं, अनुगमन गर्दा स्वीकृति नै नलिइकन अनुदानको मल दोब्बर मूल्यमा बेचेको भेट्यौं,’ उनले भने ।

कडरियाले महानगरले तोकेको पसलमा तोकिएको मूल्यमा मल किन्न कृषकलाई आग्रह गरेका छन् । ‘सबै कृषकले सरकारी अनुदान पाउने भनेकै यही मलमा हो । यसमा पनि कालोबजारी हुन्छ भने कसरी कृषकले राहत पाउन सक्छन् ?’ महाशाखा प्रमुख कडरियाले भने, ‘यस्ता कुरामा कृषक स्वयम सचेत भएर तोकिएको पसलमा तोकिएको मूल्यमा किन्नुपर्छ । ठगिएको जस्तो लागे उजुरी गर्ने बानी बसाल्नुपर्छ ।’

महानगरका उपप्रुमख मञ्जुदेवी गुरुङको नेतृत्वमा बुधबार ५ वटा कृषि पसलमा अनुगमन भएको हो । डिपोदेखि विक्री केन्द्रको दूरीका आधारमा पोखरा महानगरले रासायनिक मलको मूल्य निर्धारण गरेको छ । पोखराको मालेपाटनमा सरकारले अनुदान उपलब्ध गराएको रासायनिक मलको मूल्य प्रतिकिलो १९ रुपैयाँदेखि २१ रुपैयाँ तोकिएको छ ।

कडरियाका अनुसार मल बिक्री गर्न सरकारबाट अनुमति लिनुपर्छ भने पोखरा महानगरमा दर्ता गर्नुपर्छ । यस्तै, मलको स्टक, लागत र खरिद विक्रीको विलसमेत भेटिएको छैन । कोइराला कृषि सामग्री भण्डारले जस्तै पोखरा–५ मालेपाटनकै आर्दश कृषि सामग्री, सुरक्षा कृषि सामग्री भण्डार, शोभा ट्रेडर्स कृषि औजार भण्डारले पनि अनुमति नलिइकन दोब्बर मूल्यमा मल बिक्री गरेको भेटिएको छ ।

उनीहरूले अनुमति बिना नै बिक्री गरिरहेको रासायनिक मल फिर्ता गर्न र सम्पूर्ण कागजातसहित बिहीबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको कडरियाले बताए ।

पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिको १२ साउनमा बसेको बैठकले सरकारी अनुदान प्राप्त मलको मूल्य तोकेको थियो ।

समितिले मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकेजी १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म मूल्य निर्धारण गरेको छ। डिएपीको ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा तोकिएको छ । पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म निर्धारण गरिएको छ।

मल बिक्रेताले प्लाष्टिक झोलाको २ रुपैयाँसम्म लिन पाउनेछन् । पोखराका २६ वटा वडाका ६७ केन्द्रलाई अनुदानको मल विक्री वितरणको अनुमति दिएको महानगरले जनाएको छ ।

आवश्यक अनुसन्धान गरेर कारवाही गछौं : उपमेयर गुरुङ

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखराको कोर बजारमै रासायनिक मलमा कालोबजारी भेटिएको भन्दै आवश्यक अनुसन्धान गरेर कारबाही गर्न प्रशासनलाई आग्रह गरेको जानकारी दिइन् ।

मल बिक्री वितरणको अनुमतिसमेत नलिएका र तोकिएको भन्दा बढी मूल्य लिएका व्यवसायीलाई कारबाही हुने भन्दै उनले यसबारे सूचना दिन पनि आग्रह गरेकी छन् । ‘मूख्य बजारमै यसरी राषायनिक मलमा कालोबजारी गरेको पाइयो । अन्यत्रको अवस्था के होला ?’ उलने भनिन्, ‘तोकिएको भन्दा बढी मूल्य लिएर विक्री  गरेको पाइए सूचना दिन म सबैमा आग्रह गर्छु, ।’

 

  • १ कार्तिक २०८०, बुधबार २१:४९ प्रकाशित