हाम्रा राजनीतिक दल र भ्रष्टाचार

तिलक पराजुली

‘सदाचारीलाई सम्मान र भ्रष्टाचारीलाई वहिस्कारको संस्कृति विकास गर्नुपर्छ । कसैको पद वा उसको तडकभडकसँग नतमस्तक हुने होइन, त्यसको स्रोत के हो ? प्रश्न गर्न सक्ने जनमत नै भ्रष्टाचार रोक्ने सबै भन्दा ठूलो कारगर (Effective) उपाय हो । अर्को सकारात्मक कुरा भनेको काँग्रेस, एमाले र माओवादी केन्द्र तथा मधेश केन्द्रित दलहरू भित्रका इमान्दार र जुझारु कार्यकर्ताले आफ्ना नेताहरु क्रमश शेरबहादुर देउवा, के.पी. ओली, पुष्पकमल दाहाल लगायतका नेताहरुको भ्रष्ट व्यवहार र अनुचितशैली विरुद्ध दलभित्रै आवाज उठाएका छन् । अध्यारो सुरुङ भित्र प्रकट भएको यो प्रकाशको किरणलाई प्रज्वलित गराउन नागरिक समाजको पनि सार्थक सहयोग रहनु पर्छ ।’

                                              -वरिष्ठ अधिवक्ता तीलक पराजुली

  • विषयको महत्व

राजनीतिको उपल्लो तहमा रहेका केही व्यक्तिहरूले गरेका भ्रष्टाचारहरू पहिले पनि उद्घटित भएका हुन् । भ्रष्टाचार जसमा राजनीतिक नेतृत्व मुछिएको ठानिएको थियो त्यस्ता धेरै काण्डहरू चर्चामा आएका पनि थिए र, केही काण्डमा कारवाही अर्थात अपराधको अनुसन्धान एवं अभियोजन समेत भई सर्वोच्च अदालतबाट फैसला भई दण्डित भएका पनि हुन् । तर अहिले जुन तीनवटा भ्रष्टाचारका काण्डहरू-भुटानी शरणार्थी काण्ड, प्रधानमन्त्रीको सरकारी निवास समेत रहेको वालुवाटारको जग्गा जसलाई ललिता निवास जग्गा काण्ड भनिएको छ त्यो र सुनकाण्ड सतहमा आएका छन् र त्यसमा राजनीतिक नेतृत्वमा रहेका पार्टीका नेताहरूको जुन संलग्नता उद्घाटित भएको छ, त्यसले हाम्रो राजनीतिक दलहरूको विद्रुप रुप अझ बढी उदाङ्गियो ।

भ्रष्टाचार सबन्धमा गहिरो अध्ययन गरेका अध्येताहरू प्रायः एउटा कुरामा समान विचार राख्दछन् । उनीहरूको समान विचार के छ भने-‘जुन देशको राजनीतिक नेतृत्व नै भ्रष्टाचारमा लिप्त छ, त्यो देशमा कुनै पनि शक्तिले भ्रष्टाचार रोक्न सक्दैन ।’ तपाईं अम्बुड्स्म्यान (Ombudsman) अर्थात अख्तियार दुरुपयोग आयोग बनाउनुस वा भ्रष्टाचार छानविन कारवाही गर्ने केन्द्रिय जाँच व्यूरो बनाउनुहोस् वा अन्य कुनै आयोग निकाय । यदी राजनीतिक शीर्ष नेतृत्व भ्रष्ट र बेइमान छ भने ती आयोग-निकायहरू उसैले कब्जा गर्छ र भ्रष्टाचारको आफ्नो अनैतिक धन्दालाई निष्कण्टक बनाउछ ।

त्यसैले, भनिएको के छ भने नदीको मुहान नै दुर्गन्धित छ भने तल नदी जति सफा गरेपनि सफा पानी प्राप्त हुँदैन । राजनीतिक दलको शीर्ष नेतृत्व भनेको मुलुकमा सुशासन कायम गर्न र समाजलाई सम्बृद्धशाली बनाउने कुरामा मुख्य कारक हुन्, मुहान हुन् । यिनलाई प्रदुषण रहित बनाउनु, सदाचारी र जवाफदेही बनाउनु भ्रष्टाचार नियन्त्रणको पहिलो शर्त हुन आएकाले प्रस्तुत विषयको महत्व सम्बन्धमा धेरै गन्थन गरिरहनु पर्दैन ।

  • हाम्रो राज्य-शासनमा राजनीतिक दलको महत्व

लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलको महत्व कति हुन्छ भन्ने कुरा शास्त्रीय (Theoretical) रुपमा विश्लेषण गर्नुपर्ने आवश्यकता छैन । लोकतान्त्रिक शासन व्यवस्था र राजनीतिक दल भनेको पर्यायवाची जस्तै हुन् । पानी र माछाको जस्तै सम्बन्ध हो ।

हाम्रो आफ्नै सन्दर्भमा भन्नु पर्दा मुलुकमा जुन स्वतन्त्रता र खुलापन प्राप्त भएको छ, लोकतान्त्रिक शासन व्यवस्था कायम छ त्यो राजनीतिक दलको आह्वान र नेतृत्वमा भएका कठिन एवं लामो संघर्षबाट प्राप्त भएको हो ।

नेपालको संविधान २०७२ को प्रस्तावनामा नै लेखिएको छ- ‘जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’ । यसमा आधारित रहने शासन व्यवस्था हुन्छ । संविधानको धारा २६९ मा राजनीतिक दल सम्बन्धी व्यवस्था छ र धारा २७० ले राजनीतिक दललाई प्रतिबन्ध लगाउन नपाइने संवैधानिक व्यवस्था गरेको छ । अतः राजनीतिक दल संवैधानिक अङ्ग हुनुको साथै हाम्रो राज्य व्यवस्थाका संचालक र समाज एवं नागरिक जीवनका अभिन्न अङ्ग पनि हुन् ।

मानवीय शक्तिको दृष्टिकोणबाट विचार गर्ने हो भने हाम्रा तीन ठूला राजनीतिक दलहरू क्रमशः नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तथा यिनका भ्रातृ संगठनका क्रियाशील सदस्यहरूको संख्या झण्डै वीस लाख छ । यत्रो ठूलो सचेत एवं कामकाजी (active) संख्या भनेको हाम्रो समाजको लागि ठूलो महत्वको विषय हो । मुलुकको ड्राइभिङ फोर्स हो । यस अर्थमा पनि राजनीतिक दलको महत्व बारे बढी भनि रहनु पर्दैन ।

  • राजनीतिक दलमा भ्रष्टाचार मौलाउनुका कारण

राजनीतिक दल भनेको मुर्तरुपमा कुरा गर्दा विचार, उद्देश्य र लक्ष्य मिल्ने व्यक्तिहरुको एउटा संगठित रुप हो । त्यसैले यो मानिसबाट संचालित हुन्छ । अतः भ्रष्ट्राचार राजनीतिक दल भित्र मौलाएको मूल कारण त राजनीतिक दलको शीर्ष नेतृत्व सदाचारी, नैतिकवान, पारदर्शी र आफ्नो उद्देश्य प्रतिको प्रतिबद्धताबाट विचलित हुनु हो । भनिन्छ के भने भ्रष्टाचारको स्वभाव तलबाट माथि जाने हुँदैन, Ascending हुँदैन यो। यो त माथिबाट तल झर्छ, Descending हुन्छ । जब दलको शीर्ष नेतृत्व भ्रष्ट हुन्छ त्यसका अधिनस्थ कार्यकर्तामा त्यो झरी हाल्छ, संक्रमण हुन्छ । हामीले संविधानतः तिन तहको सरकार क्रमश संघीय, प्रदेश र स्थानीय बनाएर गाउ सहरमा सिंहदरबार ल्यायौं भन्ने भाष्य प्रकट गरेका थियौं । तर उल्टो भयो । सिंहदरबारको भ्रष्टाचार प्रदेश र गाउ सहरमा भयो । माथि शुरुमा उल्लेख भएका तीन काण्डहरूमा भुटानी शरणार्थी काण्डमा काँग्रेस र एमालेका शीर्ष तहका नेताहरू पक्राउ नै परे । ललिता निवास काण्डमा धेरै भू.पू. मन्त्रीहरु र पूर्व प्रधानमन्त्रीको संलग्नता जगजाहेर छ भने सुनकाण्डमा माओवादीका केही नेताहरूको नाम र उनीहरूको संलग्नता पनि जगजाहेर जस्तै भएको छ । यसरी नेतृत्व सदाचार विहिन भएपछि उनीहरुका विसौं लाख अनुयायीमा यो रोग संक्रमण हुँदा देश वर्वादीको स्थितिमा पुगेको छ ।

अर्को कारण हाम्रो निर्वाचन प्रणाली पनि हो । अति खर्चालु छ हाम्रो निर्वाचन प्राणाली । एउटा वडाध्यक्षको उम्मेदवारले करोड रुपैया सम्म खर्च गर्ने । मनी र मसल प्रयोग गरेर मत आर्जन गर्यो, पदमा पुग्यो । जसरी तसरी राष्ट्र, समाज र व्यक्तिलाई दोहोरिएको छ । यो दुश्चक्रको कोपभाजन (Victim) सिंग्लो नेपाल राष्ट्र र जनता भएका छन् ।

तेस्रो, तर महत्वपूर्ण, कारण भनेको भ्रष्टाचार मैत्री हाम्रो सामाजिक चिन्नत र व्यवहार हो । कसरी सम्पत्ति जोऱ्या, वैभवशाली भयो भनेर हामी सोच्दैनौं । भ्रष्टाचार गरेर वैभवशाली बनेकोलाई नै हामी सम्मान दिन्छौं । १/२ वर्ष अगाडि सम्म हात्तिछाप चप्पल पड्काएर हिँडेको व्यक्तिले कसरी माठमाण्डौमा महल बनाउछ र पजेरो चढ्छ ? त्यो प्रश्न हामीले गर्दैनौ । उपभोक्तावादले पनि यो दमित प्रवृत्ति मौलाएको हो ।

  • राजनीतिक दलका नेताको भ्रष्ट प्रवृत्तिले सृजना गरेको दृष्परिणाम

नेतृत्वबाट भएको भ्रष्टाचारको दृष्परिणाम त भयाभह छ र त्यो हामीले भोगी रहेका पनि छौं । पहिलो कुरा त भ्रष्टाचार र कुशासन दिदी बहिनी जस्तै हुन् । अहिले जुन कुशासन व्याप्त छ त्यसले गर्दा लोकतान्त्रिक व्यवस्था प्रति नै वितृष्णा जनमानसमा बढ्दै गएको छ । राजनीतिक अस्थिरताको कारण नै मुख्यत: व्याप्त भ्रष्टाचार हो ।

दोस्रो कुरा, देशको आर्थिक हालत चौपट छ । भएका उद्योग धन्दा पनि बन्द हुँदै गएका छन् । वेरोजगारीले गर्दा पठित अपठित दुवै युवा युवती विदेश पलायन भएका छन् । कृषि उत्पादन पनि घटेको छ । वैदेशिक व्यापार घाटामा छ ।

तेस्रो, राजनीतिक नेतृत्व भ्रष्ट्राचारमा लिप्त हुँदा कर्मचारी तन्त्र पनि महा भ्रष्टा भएको छ र यी दुवैको साठगाठ विचौलिया वर्गसँग भई आसेपासे अर्थतन्त्र (Crony Capitalition) को दृश्यले राष्ट्रिय उद्यमशील वर्ग घराशायी भएर दलाल पुँजीपति वर्गको बोल वाला छ । मुलुक निर्माण गर्न आफ्नो श्रम र सीप लगाउनु पर्ने लाखौँ युवा विदेश पलायन भएर मुलुक बृद्धाश्रममा परिणत हुँदै गएको छ ।

माथिका अवाञ्छनीय कारणले गर्दा हाम्रो देश नेपाल एक पंगु राष्ट्र (Banana State) मा परिणत हुँदै गएको छ । दुई ठूला विशाल देशको बीचमा रहेको हाम्रो दक्षिण एसिया कै सबैभन्दा पुरानो सार्वभौम देश नेपाल विदेशी पैसामा निर्भर हुने र शासन विदेशी कै खटनमा संचालन हुने दुर्भाग्यपूर्ण स्थितिमा पुग्दैछ । राजनीतिक दलका शीर्ष नेताहरूको भ्रष्ट चरित्रका कारण सुर्यअस्त नहुने साम्राज्यवादी शक्तिलाई पराजित गरेर स्वतन्त्र रहेको हाम्रो देश पराधिनताको संघारमा पुग्नु दुर्भाग्यपूर्ण कुरा हो ।

  • यसबाट उम्किने उपाय

माथि उल्लेख गरेको परिस्थिति हेर्दा भयावह देखिन्छ, तर यसमा सुधार गरेर, भ्रष्टाचारीलाई परास्त गरेर देशलाई सुशासन र जनता तथा समग्र नेपाली समाजलाई समृद्धि तर्फ लैजाने ढोका बन्द भएको छैन ।

नेपालको लोकतान्त्रिक र खुला समाजको उपादेयता यो रहेको छ कि जनताको सचेतना प्रखर रुपमा बृद्धि भएको छ । अब हामीले नेताहरूलाई तिम्रो सम्पत्ति र वैभवको स्रोत के हो ? यो प्रश्नको जवाफ प्रत्येक ठाउमा माग्नुपर्छ । यस्तो प्रश्न गर्ने जनमत तयार गर्नुपर्छ । यो जुरी लगायत नागरिक समाजको महत्वपूर्ण कार्यभार पनि यही हो ।

अर्को, सदाचारीलाई सम्मान र भ्रष्टाचारीलाई वहिस्कारको संस्कृति विकास गर्नुपर्छ । कसैको पद वा उसको तडकभडकसँग नतमस्तक हुने होइन, त्यसको स्रोत के हो ? प्रश्न गर्न सक्ने जनमत नै भ्रष्टाचार रोक्ने सबै भन्दा ठूलो कारगर (Effective) उपाय हो । अर्को सकारात्मक कुरा भनेको काँग्रेस, एमाले र माओवादी केन्द्र तथा मधेश केन्द्रित दलहरू भित्रका इमान्दार र जुझारु कार्यकर्ताले आफ्ना नेताहरु क्रमश शेरबहादुर देउवा, के.पी. ओली, पुष्पकमल दाहाल लगायतका नेताहरुको भ्रष्ट व्यवहार र अनुचितशैली विरुद्ध दलभित्रै आवाज उठाएका छन् । अध्यारो सुरुङ भित्र प्रकट भएको यो प्रकाशको किरणलाई प्रज्वलित गराउन नागरिक समाजको पनि सार्थक सहयोग रहनु पर्छ ।

भ्रष्टाचारीलाई दण्डित गर्ने एउटा माध्यम निर्वाचन पनि हो । एकातिर निर्वाचन कम खर्चिलो कसरी बनाउने ? यो एक राष्ट्रिय बहस हुनुपर्छ । अर्को तिर बजारू नारा (Populism) मा नवहकिने, मनिसँग नलोभिने र मसलसँग नडराउने, विवेकी र निर्भिक मतदाता भ्रष्टाचार रोक्ने ठूला शक्ति हुन्, त्यो नेपालमा बढ्दै गएको छ । जुरी लगायत नागरिक समाजले यो अभियान बढाउनु पर्छ । अनि, अख्तियार लगायतका सवैधानिक संस्थामा नियुक्ति हुनुभन्दा पहिले प्रस्तावित पदाधिकारीको सम्बन्धमा सार्वजनिक सुनुवाई हुनु वाञ्छनीय छ । निजको विगत (Track Record) छलफलमा आउनुपर्छ । भ्रष्टलाई नै अख्तियारको नेतृत्व सुम्पने जुन कुरा दोहोरिएर आएको छ, अब त्यस्तो दोहोरिन दिनु हुँदैन ।

  • अन्त्यमा

लोकतन्त्रमा देखिएका उक्त विकृति लोकतान्त्रिक माध्यमबाटै समाधान खोज्नु पर्छ । लोकतन्त्रले गर्दा नै नेताले गरेका भ्रष्टाचार र कुकार्य भण्डाफोर भएको हो र विभिन्न काण्डहरूमा संलग्न राजनीतिक व्यक्तिको कर्तुत वाहिर प्रकट भएको हो । अत : हामी निरास भएर होइन साहसका साथ भ्रष्टाचार र भ्रष्टाचारीलाई घृणा गर्ने, सदाचारीलाई सम्मान गर्ने जनमत सृजना गरौं । जनताको अजस्र शक्ति भ्रष्टाचार विरूद्ध लगाई राजनीतिक दलको नेतृत्वमा सदाचारीलाई पुऱ्याउन मद्धत गरौं । यसले नै पारदर्शीता, जवाफदेहिता सहितको भ्रष्टचार मुक्त समाज स्थापना गरी सुशासन युक्त तथा समृद्ध नेपाल स्थापना गर्ने जनआकांक्षा साकार हुनेछ ।

-वरिष्ठ अधिवक्ता तीलक पराजुली सिटिजन जुरी कास्कीका निवर्तमान अध्यक्ष हुन् ।

 

  • २७ आश्विन २०८०, शनिबार १६:५० प्रकाशित