विद्यालय शिक्षा विधेयक संसदमा पेश

केन्द्रभाग मिडिया

विद्यालय शिक्षा विधेयक संसदमा पेश

काठमाडौं ।

विद्यालय शिक्षा विधेयक २०८० प्रतिनिधि सभामा पेश भएको छ ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विधेयक सभामा पेश गरेका हुन् ।

गत भदौ २७ गते मन्त्री राईले नै प्रतिनिधि सभामा यो विधेयक दर्ता गरेका थिए । विधेयकलाई लिएर शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन समेत गरेका थिए । शिक्षकहरुको मागलाई संसदीय प्रक्रियामार्फत सम्बोधन गर्ने सहमति सरकारले गरिसकेको छ ।

विधेयक पेश गर्नु अगाडि नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०का सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए । उनले विद्यालय शिक्षा विधेयकका जिल्ला शिक्षा कार्यालय ब्यूँताउने प्रस्ताव राखिएको भन्दै प्रतिगमनको संज्ञा दिएका थिए ।

संविधानले स्थानीय सरकार मातहत आधारभूत र माध्यमिक शिक्षा रहने भनेको तर जिल्ला शिक्षा कार्यालय राखेर संघले नै नियन्त्रण गर्न खोजेको भनी सुवालले विरोध गरेका थिए ।

शिक्षा मन्त्री राईले सुवालको यस प्रश्नको जवाफ दिएनन् । सुवालको विरोधको सूचनालाई सभाले अस्वीकृत गरिदियो । त्यसपछि विधेयक सभामा पेश भएको हो ।

अब अर्को कुनै बैठकमा विधेयकमाथि विचार गरियो भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

  • १४ आश्विन २०८०, आईतवार १६:३१ प्रकाशित