सातौं अन्तर्राष्ट्रिय हेमजा गोल्डकपको लागि भेला

केन्द्रभाग मिडिया

पोखरा ।
हेमजा युनाइटेडको आयोजनामा पोखरा २५ हेमजामा बिहीबार भेला सम्पन्न भएको छ । हेमजा युनाइटेडले आयोजना गर्न लागेको सातौं अन्तर्राष्ट्रिय हेमजा गोल्डकपको लागि भेला गरिएको हो ।

भेलालाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न. २५ का वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले गोल्डकपको लागि महानगरको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । हेमजा युनाइटेडका अध्यक्ष राजेश त्रिपाठीले गोल्डकप हेमजाको गौरव भएकोले सबैलाई सहयोग गर्न आग्रह गरे।

अगामी ११ कार्तिकदेखि १८ कार्तिकसम्म सञ्चालन हुने आमन्त्रित नकआउट फुटबल प्रतियोगिता गर्न ६० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष त्रिपाठीले जानकारी दिए । भेलामा सुबिन श्रेष्ठ, शंकरमणी त्रिपाठी, शोभाकर तिमिल्सिना, सन्तमान श्रेष्ठ, दानबहादुर थापा, धर्मराज बाँस्तोला, दानबहादुर भुजेल लगाएतले सुझाव दिएका थिए ।

युवा एकता र विकासका लागि खेलकुद’ भन्ने नाराका साथ गर्न लागिएको प्रतियोगिताबाट बचेको ५० प्रतिशत रकम हेमजा युनाईटेड एकेडेमी सञ्चालानार्थ खर्च गरिनेछ । युनाईटेडले गोल्डकपलाई निरन्तरता दिने, खेल मैदानमा प्याराफिट निर्माणमा थप पहल गर्ने, गौरीशंकर खेलमैदानलाई प्रादेशिक खेलमैदान वनाउन पहल गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

विजेता समूहले नगद ६ लाख ५५ हजार रुपैयाँ र उपविजेता समूहले ३ लाख ५५ हजार रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, सर्वाधित गोलकर्तालाई २५ हजार , फेयर प्लेय पुरस्कार २५ हजार रुपैयाँ र अन्य विभिन्न पाँच विधामा उत्कृष्ट हुनेलाई जनही २०, हजार रुपैयाँ तथा म्यान अफ दि म्याच हुन सफल खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

हेमजा युनाइटेडका अध्यक्ष राजेश त्रिपाठीको अध्यक्षतामा भएको भेलाको सञ्चालन सचिव सुनिल गायक लगायतले बोलेका थिए ।

  • ११ आश्विन २०८०, बिहीबार १८:५७ प्रकाशित