काठमाडौँ ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा व्याप्त रहेको कमिसनको जालो नतोड्दासम्म समृद्धि सम्भव नभएको बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम आएकाहरुको बारेमा थप अनुसन्धान भइरहेको बताउँदै श्रेष्ठले देश कमिसन र भ्रष्टाचारले जर्जर बनाएको टिप्पणी गरे ।
देशमा भ्रष्टाचारको जालो व्यप्त रहेको र कमिसनको जालो नतोड्दासम्म समृद्धिको यात्रा सफल हुन नसक्ने बताउँदै गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न आवश्यक भएको बताए । उनले देशको नागरिकलाई अनागरिक बनाइ विदेश पठाइ सम्पती कमाउने काम सह्य नहुने बताए ।
गृहमन्त्री श्रेष्ठले भने, ‘जनतालाई हामीले जीवन फेरिएको अनुभुति दिलाउन सकेका छैनौँ । त्यसको निम्ति हामीले केही गर्नुपर्छ । हाम्रो देशमा भ्रष्टाचारको जालो धरै व्याप्त छ । कमिसनले पनि देशलाई जर्जर बनाएको छ । यो कमिसनको जालो र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म समृद्धिको यात्रा पूरा हुन सक्दैन ।’
बिहीवार नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली भूटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।
गृहमन्त्री श्रेष्ठले कोही व्यक्तिले दिएको बयानकै आधारमा पक्राउ गर्न नमिल्ने भन्दै थप अनुसन्धान भइरहेको बताए । उनले राजनीतिक दलहरुले नागरिकलाई जीवन फेरिएको अनुभुति दिन नसकेको बताए ।
यस प्रति तपाइको धारणा के छ ?