पोखरा ।
‘महिला श्रमिकको सम्मान गरौँ, उज्जल भविष्य निर्माण गरौँ’ भन्ने नाराका साथ नेपाल महिला संघ पोखरा महागनर समितिले एक सय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । संघले श्रम गरेर जिवन गुजारा गर्ने महिलाहरुसंग दिवस मनाएको हो । दिवस मनाउन संघका सभापति माया बराल लगायतका पदाधिकारी र सदस्य पोखराको रामघाटमा पुगेका थिए ।
सयौँ महिलाहरु रामघाटको बालुवामा दैनिक काम गर्ने गर्छन । तिनै श्रमिक महिलाहरुसंग दिवस मनाउन संघले सेती नदी रामघाटमा कार्यक्रमको आयोजना गरेको संघका सभापति बरालले बताइन् ।
उक्त कार्यक्रममा श्रमिक महिलाहरुलाई ८० थान थुन्से वितरण गरिएको थियो । वडानम्बर ९ को समन्वयमा रामघाटमा बालुवा बोक्ने महिलाहरुलाई लक्षित गरि थुन्से वितरण गरिएको बरालले जानकारी दिइन् ।
श्रमिक दिवस वारे जानकारी समेत नपाएका श्रमिक महिलाहरुले कार्यस्थमै आएर संधले थुन्से वितरण गरेकोमा खुशी व्यक्त गरे ।
संघले उक्त अवसरमा विभिन्न क्षेत्रमा कार्यरत महिलाहरुलाई सम्मान पनि गरेको थियो । सम्मानित हुनेमा पोखरा महानगरपालिका बरिष्ठ अधिकृत चन्द्रावती वाग्ले, विधुत प्राधिकरणमा कार्यरत हेवी सवारी चालक देवी कार्की, नेपाल टेलिकम वर्कस युनियन प्रादेशिक उपाध्यक्ष लक्ष्मी पहारी र श्रमिक महिला गौरी नेपालीलाई सम्मान गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका–९ का वडाध्यक्ष एवं नेपाली कांग्रेस कास्की २(ख) का सभापति दिपेन्द्र मर्सानी, संघका सभापति माया बराल लगायतले उनिहरुलाई सम्मान गरेका थिए ।
सो अवसरमा बोल्दै वडाध्यक्ष मर्सानीले नेपाल महिला संघले श्रमिक महिलाहरु कार्यस्थमा आएर कार्यक्रम मनाएकोमा धन्यवाद व्यक्त गरे । महिलाहरुले सहजरुपमा श्रम गर्ने वातावरण बनाउन संघले काम गर्न पनि मर्सानीले सुझाव दिए ।
महिलाहरुको आर्थिक अवस्था सुधार गर्न र श्रमिक महिलाहरुको अधिकार सुनिश्चित गर्न वडाले काम गरिरहेको उनले बताए ।
वडा सदस्य भावना श्रेष्ठले आफ्नो दैनिकी जिविकोपार्जन गर्न श्रीमानको मात्र भर नपरेर महिलाहरु श्रम गर्न निस्कनु आफैमा सकारात्मक पक्ष रहेको बताइन् ।
नेपाली कांग्रेस पोखरा महानगर– ९ का सभापति शिवराज बास्तोलाले महिलाहरुको अधिकार स्थापित गर्न घरघरबाट सुधार गर्नुपर्ने बताए ।
कार्यक्रमको समापन गदै सभापति बरालले नेपाल महिला संघ महिलाहरुका दुःख सुखमा मलम लगाउन तयार रहेको बताइन् ।
तपाइहरुले बोकेका बालुवा, सिमेन्टले बनेका घरहरु, तपाइहरुले पिठ्युको छाला फालेर बोकेर बनाएका दरबारमा बसेका नेताहरु तपाइहरु सामुछन्, उहाँहरुलाई थाहा छ, छैन होला ! उहाँहरुलाई म यहीबाट भन्न चाहन्छु, दिदिबहिनीहरुले पसिना बगाएर बनाएका भवनहरुमा बसेर महिला अधिकारलाई अन्त्य गर्न पाउनुहुने छैन, उनले भनिन् । महिलाहरुको ज्याला पुरुष सरह हुनुपर्ने बरालले जोडदार माग गरिन् ।
कार्यक्रममा संघका सह–सचिव गोमा कोइराला सुवेदी, महिला संघ महाधिवेशन प्रतिनिधि उमा ठकुरी, अधिवक्ता गिता लामिछाने, तारा रानाभाट, देवी कार्की, चन्द्रावती वाग्लेले महिला अधिकार वारे बोलेका थिए ।
यस प्रति तपाइको धारणा के छ ?