काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तीय समस्या समाधान गर्नका लागि तल्लीन रहेको बताएका छन् ।
अराजक तत्वहरूले वित्तीय अराजकता निम्त्याउने कोसिस गरिरहेको बताउँदै दाहालले सो बताएका हुन् । उनले यस्ता परिघटनाहरूलाई आफूले गम्भीर रुपमा लिएको र बैंक तथा वित्तीय क्षेत्रका समस्या सुल्झाउन पहल गरिरहेको उल्लेख गरे ।
आइतबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धी बैठकमा प्रधानमन्त्रीले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्ति लगायतका विषयमा गभर्नर बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।
अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमै रहेको उल्लेख गर्दै उनले आफू प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात् मन्त्रिपरिषदको पहिलो बैठकमा नै अर्थतन्त्रका समस्या समाधानका निम्ति निजी र सार्वजनिक क्षेत्रको सहकार्यमा अगाडि बढ्ने निर्णय गरिएको स्मरण गरे । ‘सरकार अर्थतन्त्रका चुनौती समाधान गर्न तल्लीन छ । बैंक र लघुवित्तका क्षेत्रमा जनताका गुनासोप्रति म जानकार र सचेत छु । यसलाई के–कसरी समाधान गर्न सकिन्छ, तपाईहरूको सुझावको अपेक्षा गरेको छु । परिआए समस्या समाधानका निम्ति उच्चस्तरीय आयोग नै बनाउनुपर्ने पनि हुन सक्छ।’
लघुवित्तका समस्याबारे दिनदिनैजसो समाचार प्रकाशित भइरहेका छन्, ‘बैठकमा प्रधानमन्त्रीले भने,‘व्यवसायीहरूले विभिन्न ढंगले चासो र चिन्ता राखेका छन् । यही मौकामा अराजक तत्वले वित्तीय अराजकता निम्त्याउने कोसिस गरिरहेका छन् । यी सबै परिघटनालाई मैले गम्भीर रूपमा लिएको छु।’
यस प्रति तपाइको धारणा के छ ?