काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट संसद् विघटन ठीक थियो भनेपछि माओवादीले नयाँ विकल्प खोजेको बताएका छन् ।
बिहीबार राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आयोजित आठदलीय सांसदहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पुस २६ गतेको ओलीको विचारले आफूलाई सोच्न बाध्य बनाएको उल्लेख गरे ।
मेरा लागि प्रधानमन्त्री पद ठूलो कुरा होइन, संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा हो । पुस २६ गतेको संसद्मा मैले प्रधानमन्त्रीको रुपमा विश्वासको मत लिँदै गर्दा ओलीजीले संसद्मा जे बोल्नुभयो‚ त्यसले मनमा चसक्क भयो । हामी संसद् विघटनको विपक्षमा थियौँ । हामी आफैँले त्यत्रो संघर्ष गरेर संसद् फिर्ता ल्याएका थियौँ । तर, उहाँले ठिक गरेका थियौँ भनेपछि हामी सोच्न बाध्य भयौँ । संविधान र लोकतन्त्रविरूद्ध हामी जाने कुरा भएन । हामी सोच्न बाध्य भयौँ । त्यस्तो नयाँ परिस्थिति बन्यो । आज फेरि संविधान र लोकतन्त्रको रक्षाका निम्ति हामी एक ठाउँमा उभिएका छौँ‚ प्रधानमन्त्री दाहालले भने ।
अघिल्लोपटक संविधानविपरीत संसद विघटन भएपछि सबै संविधान र लोकतन्त्रको पक्षमा उभिएर संसद पुनःस्थापना गर्न सडकसम्म गएको उनले सम्झिए । ुहाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो । तर, बीचमा हामी अलिकति अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ । गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ‚ दाहालले भने ।
यस प्रति तपाइको धारणा के छ ?