काठमाडौँ ।
क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई यूएई पठाउने तयारी गरेको छ । विदेश जान सोमबार सर्वोच्च अदालतबाट अनुमति पाएसगै क्यानले उनलाई यूएई पठाउने प्रक्रिया थालेको बताएको छ ।
नाबालिग बलात्कार आरोपमा धरौटीमा रिहाइ भएका सन्दीपलाई पाटन उच्च अदालतले विदेश जान रोक लगाएको थियो ।सन्दीपले आफू विदेशमा खेल्न जान पाउनु पर्ने माग राख्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । त्यसपछि सर्वोच्चले सोमबार उनलाई पुनस् पक्राउ गर्न आवश्यक नरहेको भन्दै विदेश जान अनुमति दिएको थियो ।
क्यानका क्रिकेट म्यानेजर विनोद दाशले सन्दीपको भिसाको लागि यूएई एम्बेसीमा हिजो मात्र पठाएको र अब भिजा आएपछि टिममा समावेश गर्ने र यूएई पठाउने प्रक्रियामा जाने बताए ।
‘सन्दीपको भिसाका लागि यूएई एम्बेसीमा पासपोर्ट हिजो बुझाएका छौँ । भिजा आउने बित्तिकै टिममा राख्ने र यूएई पठाउने प्रक्रिया सुरु गर्नेछौँ,’ दाशले बताएका छन् ।
नेपालले अहिले यूएईमा पपुवा न्युगिनी (पीएनजी) र घरेलु टोली यूएईसँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेलिरहेको छ ।
यस प्रति तपाइको धारणा के छ ?