पोखरा ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले प्रदेश मातहतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालय एवं अन्य प्रहरी कार्यालयका प्रमुखहरुसंग भिडियो कन्फरेन्स मार्फत छलफल, अन्तरक्रिया गरेका छन् ।
प्रदेश मातहतका जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, जिल्ला अन्तर्गत प्रहरी परिचालन साथै जनशक्ति व्यवस्थापन र आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा छलफल तथा अन्तरक्रिया गरी गण्डकी प्रदेश अन्तर्गतको शान्ति सुरक्षाको अवस्थालाई थप चुस्तदुरुस्त बनाउन भिडियो कन्फरेन्स गरिएको हो ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका ११ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुले आ(आफ्नो कार्यालय अन्तर्गत भईरहेका विभिन्न गतिविधिहरु लगायतका विषयमा प्रहरी नायव महानिरीक्षक गुरुङलाई जानकारी गराएका थिए।
भिडियो कन्फरेन्समा सहभागी प्रहरी अधिकृतहरुलाई निर्देशन सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक गुरुङले सम्पुर्ण प्रहरी कर्मचारीहरुले कानूनको विवेक सम्मत प्रयोग गर्न बताए । प्रहरी कार्यमा व्यवसायिकतालाई बरकरार राख्न व्यवसायिक सिप र प्रहरी कर्मचारीहरु बिच समन्वय आवश्यक रहेको बताए।
गुरुङले लक्षित वर्ग पहिचान गरी घरेलु हिंसा, लागुऔषध दुर्व्यसनी न्युनिकरण, साईबर क्राईम, सडक सुरक्षा जस्ता विषयहरुमा नागरिकहरुको सकारात्मक धारणाको विकास गर्ने लघु सचेतना कार्यक्रमहरु सञ्चालन गर्न समेत सम्पुर्ण जिल्ला प्रहरी कार्यलयहरुलाई निर्देशन दिए।
यसका साथै समाजको शान्ति सुरक्षामा प्रहरीको उपस्थिति देखिने गरी बनाएको गस्ती योजना अनुरुप ग्रामिण र शहरी गस्ती लाई बढावा दिन निर्देशन दिए । प्रमाणमुखी अपराध अनुसन्धान र अभिलेख व्यबस्थापनमा प्रहरी चुक्न नहुने बताउदै प्रहरी संगठनजस्तो पवित्र संगठनबाट गलत सूचना प्रवाह हुन नदिन प्रभावकारी मिडिया सम्बन्ध निर्माण गर्नुपर्ने बताए ।
यसका साथै प्रहरी नायव महानिरीक्षक गुरुङले मातहतका प्रहरी कर्मचारीहरुको गुनासोहरुलाई लिखित रुपमा लिने र सम्बोधन गर्ने तथा आफुबाट सम्बोधन नहुने गुनासोहरु माथिल्लो तहमा जाहेर गर्ने कार्यशैलीको विकास गरी प्रहरी संगठनमा हुने अनुचित दबाव नियन्त्रण गर्न जिल्ला प्रहरी प्रमुख लगायतका प्रहरी अधीकृत तथा जवानहरुलाई निर्देशन दिए।
यस प्रति तपाइको धारणा के छ ?