काठमाडौँ ।
अन्तर्राष्ट्रिय साझेदारीका लागि यूरोपेली संघकी आयुक्त जुटा उर्पिलाइनेन बुधबार नेपाल आउने भएकी छन् । काठमाडौंस्थित यूरोपेली संघ। (ईयू) दूतावासका अनुसार आयुक्त उर्पिलाइनेनले आफ्नो एकदिने भ्रमणमा नेपाली नेताहरुसँग भेटघाट गर्न गर्ने कार्यक्रम रहेको छ ।
पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार आएपछि ईयूबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नेपालमा अमेरिकाबाट एकपछि अर्को भ्रमण भइरहेका बेलामा ईयूबाट पनि भ्रमण हुन लागेको हो । आयुक्त उर्पिलाइनेनले नेपालमा यूरोपेली संघका विभिन्न कार्यहरुको सुरुआत गर्न आउन लागेकी ईयूले जनाएको छ ।
नेपालले सन् २०२६ मा अल्पविकसित देश (एलडीसी) स्थितिबाट उत्तीर्ण हुने तयारी गरिरहेको महत्वपूर्ण समयमा आयुक्त उर्पिलाइनेनको भ्रमण हुन लागेको ईयूले जनाएको छ । सन् २०२१ देखि २०२७ सम्म नेपालको लागि यूरोपेली संघले मल्टिएनियल इन्डिकेटिभ प्रोग्राम (एमआईपी) मार्फत सहयोग गरेको छ ।
एमआईपीमार्फत युरोपेली संघले नेपाल सरकारको अनुरोध अनुसार कोभिड–१९ महामारीको प्रभाव पार गर्न नेपालको हरित, रिजिलेन्ट र समावेशी विकास (ग्रिड)प्रयासमा योगदान दिने ईयूले जनाएको छ ।
आयुक्त उर्पिलाइनेनले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री विमला राई पौडेलसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ ।
यस प्रति तपाइको धारणा के छ ?