ललिता निवास प्रकरणः यी हुन प्रकाउ पुर्जी जारी भएका हाईप्रोफाइल भीआईपीहरु (नामावलीसहित)

केन्द्रभाग मिडिया

बालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा राजनितिक हाइप्रोफाइल भीआईपीहरु पनि मुछिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अदालतबाट उनीहरुमाथिको पक्राउ पुर्जी लिइसकेको छ । बुधबारसम्म ३ सयभन्दा बढीमाथि सीआईबीले पक्राउ पुर्जी लिएको छ ।

काठमाडौँ जिल्ला अदालत स्रोतका अनुसार सीआईबीले हाल पक्राउ पुर्जी लिएका व्यक्तिहरूमा ७ जना सरकारी संयन्त्रमा रहेर काम गरिसकेका भीआईपी तथा तीनजना व्यापारिक घरानाका भीआईपीहरू समेत रहेका छन् ।

जिल्ला अदालत स्रोतका अनुसार पक्राउ पुर्जी दिइएकाहरूमा नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, अन्य पूर्व मन्त्रीहरू चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र छविराज पन्त रहेका छन् । त्यसै गरी अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात र पूर्व सचिव दिनेशहरि अधिकारीमाथि पनि पक्राउ पुर्जी जारी भएको अदालत स्रोतले जनाएको छ ।

त्यस्तै ललिता निवास जग्गा प्रकरणका प्रमुख आरोपी मीन बहादुर गुरुङ, सुधीरकुमार शाह, आफ्नो जग्गा हो भन्दै दाबी गर्ने व्यापारीहरू श्रवणकुमार गोयल र कैलाश चन्द्र गोयलमाथि पनि पक्राउ पुर्जी जारी भएको छ । गोयल दाजुभाइ डीएल डेभलपर्सका मालिकहरू हुन् । डेभलपर्सको नाममा ललिता निवासभित्र करिब १६ रोपनी जग्गा रहेको छ ।

बालुवाटारस्थित ललिता निवास रहेको सरकारी जग्गा जफत फिर्ताको नाममा व्यक्तिको नाममा नामसारी गरेर १३७ रोपनीभन्दा बढी जग्गा गायब पारिएको सम्बन्धमा यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको थियो । अख्तियारले दोषीलाई कारबाही गर्दै जग्गा जफत गरी सरकारको नाममा ल्याउने प्रयोजनका लागि उक्त मुद्दा दायर गरेको थियो ।

  • २२ पुष २०७८, बिहीबार १०:१८ प्रकाशित