महामन्त्री गगनको घोषणाः निर्वाचनसम्म १५ लाख जनालाई कांग्रेस प्रवेश गराउछौँ

केन्द्रभाग मिडिया

अर्घाखाँची ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अबदेखि गुटबन्दी र भागबण्डा हुन रोकिने बताएका छन्।आमसभा तथा पार्टी प्रवेश कार्यक्रमका लागि अर्घाखाँचीको पाणिनी गाउँपालिका पुगेका उनले सम्बोधन गर्दै भने, ‘पार्टीमा हामी गुट भागबण्डा केही हुन दिन्नौँ,सिंगो कांग्रेस बनाएर चलाउँछौं।’

पार्टीको झगडाले देशलाई अप्ठ्यारो परिरहेको बताउँदै त्यस्तो हुन नदिन आफू कटिबद्ध रहेको बताए। एमालेबाट गाउँपालिका उपाध्यक्ष जितेकी लक्ष्मी गौतमलाई कांग्रेस प्रवेश गराउँदै उनले आगामी निर्वाचनसम्म १५ लाख जनालाई कांग्रेस प्रवेश गराउन लक्ष्य रहेको बताएका छन् । उनले पार्टी प्रवेश कार्यक्रमलाई अभियानकै रुपमा लिएर आगामी आठ महिनामा १५ लाख जना प्रवेश गराउने बताए।

उनले भने, ‘औपचारिक रुपमा घोषणा नभए पनि आजैबाट पार्टी प्रवेश अभियान सुरु भएको छ। आज ५०० जना अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्नुभएको छ ।अब १४ लाख ९९ हजार ५०० लाई पार्टीमा ल्याउँछौं। यहाँबाट फर्किने हरेकले थप एक जना पार्टी कसरी प्रवेश गराउने भन्नेबारे सोच्नुहोला।’

आगामी निर्वाचनबाट बहुमत हासिल गरेपछि पाँच वर्ष सरकार चलाएरै छाड्ने प्रतिबद्धता उनले जनाए। २०४८ सालमा बहुमत पाएको कांग्रेसले गरेको गल्ती र २०७४ सालमा नेकपाले बहुमत पाएर गरेको गल्तीबाट पाठ सिक्दै अघि बढ्ने उनको भनाइ थियो।

उनले भने, ‘यसपल्ट कांग्रेसले बहुमत पायो भने पाँच वर्ष देश चलाउँछ। २०८९ मा सरकारमा पुगेको कांग्रेस २०८४ सम्मै सरकार टिकाउँछ। कांग्रेसले २०४८ सालमा बहुमत पायो। आफ्नै गल्तीले सरकार टिकाउन सकेन। नेकपाले २०७४ मा बहुमत पायो, थेग्न सकेन। हामी आफ्नै र अर्काको गल्तीबाट पाठ सिकेर अघि बढ्छौं।’

यसपल्ट कांग्रेसले बहुमतको उपयोग कसरी गर्नेसमेत सिकाउने उनको भनाइ छ।

  • १९ पुष २०७८, सोमबार १६:५६ प्रकाशित