दुइ महामन्त्री मिलेर कांग्रेसलाई एक बनाउने हो : महामन्त्री विश्वप्रकाश शर्मा

केन्द्रभाग मिडिया

काठमाडौं।
नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशन सकिएपछि पार्टीमा गुट गौढ हुने बताएका छन् । महामन्त्री शर्माले भने, “अब कांग्रेसलाई सिंगो टिमले ड्राइभ गर्छ । सबैभन्दा पाको नेतृत्व र तुलनात्मक युवा नेतृतव पनि कांग्रेसमै छ ।

अब पार्टी परिपक्व हिसाबले अघि बढ्छ । महाधिवेशनमा जाँदा फरक फरक विचार समूह हुनु स्वाभाविक हो । पार्टीमा फरक विचार हुन्छ, आलोचना हुन्छ । तर जे निर्णय हुन्छ, त्यो पार्टीको हुन्छ । सभापतिज्यूले ‘म मत नदिनेको पनि सभापति हुँ’ भन्नुभएको छ । महाधिवेशन सकिएपछि गुट गौढ हुन्छ । गुट भनेको पास्ट टेन्स हो, अब हामी प्रिजेन्ट टेन्समा छौं ।”

१३ जना केन्द्रीय सदस्य मनोनयनमा त सभापति शेरबहादुर देउवाले त्यो स्पिरिट देखाउनुभएन नि भन्ने प्रश्नमा महामन्त्री शर्माले भने, “१३ जनाको मनोनयनमा उहाँलाई मत दिने र नदिने दुवै पर्नुभएको छ । सबै जना पार्टीका नेताहरु नै हुनुहुन्छ । कतिपय साथीहरु नछुट्नुभएको भए हुन्थ्यो भन्ने कुरा पनि स्वाभाविक हो । अब फरक विचारलाई पनि गाँसेर लैजानुपर्छ । अब अरु साथीहरु पनि पर्नुहुन्छ ।”

केन्द्रीय सदस्य मनोनयनमा आफ्नो पक्षबाट पराजित साथीहरु किन परेनन् भनेर शेखर कोइरालाले चुनौती दिनुभएको छ नि भन्ने प्रश्नमा महामन्त्री शर्माले थपे, “शेखरले के भन्नुभयो, मलाई थाहा छैन । कांग्रेसमा कुनै निर्णयमा खिलाफमा टिकाटिप्पणी अनौठो पनि होइन ।

म को–को समूहको भनेर केलाउन चाहन्नँ । दोस्रो चरणमा समर्थन गरेका नेताहरुलाई पहिलो चरणमै ल्याउनुभयो । सभापतिले सर्वाधिक परिपक्वता देखाउनुपर्छ, अबका नियुक्तिमा हेक्का राख्नुहुन्छ भन्ने लाग्छ । तर सभापति भएको एक महिना पनि भएको छैन । जम्मा एउटा बैठक भएको छ । लामो यात्रामा जाँदै गर्दा अहिले नै मूल्यांकन गर्ने बेला भएको छैन ।”

कांग्रेस र एमालेको महाधिवेशनबाट कुन पार्टी ठीक भन्ने जनताले सहजै अनुमान गर्न सक्ने उनको मत छ । शर्माले भने, “एमालेमा अध्यक्षले जजसको लिस्ट बाँड्नुभयो, त्यहीमात्र जित्नुभयो । हाम्रो सभापतिले पनि लिस्ट बाँड्नुभयो, उहाँको लिस्टमात्र जितेन । लिस्ट बाहिर रहेका फरक विचार समूहका नेता पनि आए । महाधिवेशन प्रतिनिधिले विवेक पुर्याउनुभयो । लोकतन्त्रमा फरक मत पनि सौन्दर्य हो ।”

अब मंसिरको महाधिवेशनमा अलमलिएर बस्नु नहुने उनले बताए । उनले भने, “प्रतिस्पर्धालाई रिस, राग, द्वैष, आवेग मान्नुभएन । बीपी कोइरालाले सर्वसम्मत चुनिने अवस्थामा पनि कोही न कोही त खडा हुनोस् भन्नुभयो र भोजपुरका डा. भूदेव राई उठ्नुभयो । म विजय हुँदा पनि योग्य साथीहरु छुट्नुभएको छ, अरु आउँदा पनि सक्षम साथीहरु छुट्नुभएको छ । अब मंसिरमा अलमलिएर नबसौं, हामी पुसको क्यालेन्डरमा छौं ।”

सभापति देउवालाई आफूले सहयोग र खबरदारी दुवै गर्ने पनि शर्माले बताए । उनले भने, “म अहिले कुनै गुटको होइन, नेपाली कांग्रेसको महामन्त्री हुँ । शेरबहादुर देउवा मेरो सभापति हो । पहिले म उहाँको प्रवक्ता थिएँ । मत भनेको कहिले मिल्छ, कहिले मिल्दैन । हामी बिग्रने कुरामा मिल्ने होइन, राम्रो कुरामा मिल्ने हो । खबरदारी गर्ने हो, सहयोग गर्ने हो ।”

आफू अर्का महामन्त्री गगन थापासँग मिलेर अघि बढ्ने पनि उनले आस्वस्त तुल्याए । उनले भने, “हामीले मिलेर भोलिको कांग्रेसलाई सन्देश दिने हो । अब हामीले ‘डी एन्ड डी’ ९डेमोक्रेसी एन्ड डेभलपमेन्ट० मा ध्यान दिनुपर्छ । हामीले गति सुस्त गयो भनेर चिन्ता गर्नुपर्दैन, सही बाटो समात्नुपर्छ ।”रिपोर्टस् डटकमबाट

  • १९ पुष २०७८, सोमबार ०९:५८ प्रकाशित