सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडपः प्रहरीले चलायो गोली, आधा दर्जन घाइते

केन्द्रभाग मिडिया

 काठमाडौं ।

पूर्व–पश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द घोषणा गरेको डा.सिके राउत नेतृत्वको जनमत पार्टी र प्रहरीबीच झडप भएको छ । पूर्व पश्चिम राजमार्गस्थित धनुषाको पोर्ताहा पुलमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप हुदाँ प्रहरीले गोली चलाएको छ । गोली लागि आधा दर्जन घाईते भएको बताइएको छ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहा पुलमा टायर बालेर बाटो अवरूद्ध गरेका कार्यकर्तालाई हटाउने क्रममा प्रहरी र कार्यकर्ताबीच झडप भएको हो ।पहरीले अवरूद्ध सडक खुलाउन पटक पटक आग्रह गर्दा पनि उनीहरूले नमानेपछि प्रहरीले बल प्रयोग गरेको प्रहरीले जनाएको छ।

प्रहरीको गोली लागेर नथु यादव, राम दयाल मण्डल, सञ्जय साह, विजय यादव र वैजनाथ साह घाइते भएका छन्। घाइतेमध्ये वैजनाथको टाउकामा गोली लागेको प्रहरीले जानकारी दिएको छ।

डिएसपी बस्नेतका अनुसार घटनामा परि दुई प्रहरी घाइते भएका छन्। प्रहरीले पटक पटक आग्रह गर्दा पनि उनीहरूले सडक अवरूद्ध गरि उल्टै प्रहरीमाथि ढुंगा मुडा प्रहार गरेको प्रहरीले बताएको छ। उनीहरूले ढुङ्गा मुडा गरी पेट्रोल भरिएको बोतल प्रहरीतर्फ प्रहार गरेको बताइएको छ। प्रहरीले जवाफी कारबाहीमा ४ शेल रबर बुलेट र ११ शेल अश्रु ग्यास प्रहार गरेको थियो ।

  • १८ पुष २०७८, आईतवार १४:३८ प्रकाशित