चिनियाँ फुटबल खेलाडीलाई ट्याटु हान्न प्रतिबन्ध,भएकालाई मेटाउन लगायो

केन्द्रभाग मिडिया

एजेन्सी ।

चीनका राष्ट्रिय फुटबल खेलाडीलाई ट्याटु हान्न कडा प्रतिबन्ध लगाएको छ । चिनियाँ खेलकुद प्रशासनले फुटबल खेलाडीलाई ट्याटु हान्न प्रतिबन्ध लगाउँदै ट्याटु भएका खेलाडीलाई हटाउन निर्देशन दिएको छ ।

चिनियाँ खेलकुद प्रशासन कार्यालयले राष्ट्रिय स्तर र युवा टोलीमा ट्याटु भएका नयाँ खेलाडीहरू राख्न कडा प्रतिबन्ध लगाएको जनाएको हो।

कार्यालयले समाजमा राम्रो उदाहरण प्रस्तुत गर्न यस्तो प्रतिबन्ध लगाइएको जनाएको छ।जाङ लिन्पेङ जस्ता राष्ट्रिय खेलाडीहरूलाई यसअघि नै आफ्नो ट्याटु छोप्न भनिएको थियो।

चीनले सन् २०१८ देखि नै टिभीमा ट्याटु देखिनबाट रोक्न नयाँ निर्देशनहरू जारी गर्न थालेको हो।त्यसयता केही व्यावसायिक खेलाडीहरूले ट्याटु छोप्न लामो बाहुला भएको जर्सी प्रयोग गरिरहेका छन्।

एक विज्ञप्तिमा चीनको जनरल एड्मिनिस्ट्रेसन अफ स्पोर्टसले ट्याटु भएका राष्ट्रिय खेलाडीहरूलाई ट्याटु हटाउन सुझाव दिइएको जनाएको छ। विशेष अवस्थामा प्रशिक्षण र प्रतियोगिताको समयमा ट्याटु छोप्नु पर्छ,’विज्ञप्तिमा भनिएको छ।

चिनियाँ संस्कृतिमा ट्याटुलाई राम्रो मानिन्न।विगतमा ट्याटुलाई अपराधीहरूको चिन्ह मानिन्थ्यो भने पूर्वी एशियामा यसलाई साङ्गठनिक अपराध समूहहरूसँग जोडिन्छ।चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले ट्याटुलाई राम्रो मान्दैन तर त्यहाँ हालैका दिनहरूमा ट्याटु लोकप्रिय हुन थालेको छ।

यो वर्षको सुरुमा चीनको प्रसारण निकायले अस्वास्थ्य सामग्रीमाथि कडाइ गर्ने जनाएको थियो।

  • १८ पुष २०७८, आईतवार १४:०३ प्रकाशित