माओवादी महाधिवेशनः चुनाव गर्दा ठुला नेता हार्ने डर !

केन्द्रभाग मिडिया

नेकपा माओवादी केन्द्रले आज २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने भएको छ ।

सहमतिकै आधारमा केन्द्रीय कमिटीको नामावली तयार पार्न शीर्ष तहमा प्रयास भइरहे पनि दिउँसो २ बजेदेखि मनोनयन दर्ता लगायतको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । नेतृत्व चयनमा सहमति हुन नसके २९९ सीटका लागि १७४२ मतदाताका बीचमा चुनाव हुने सम्भावना बढेको छ ।

माओवादी अध्यक्ष प्रचण्डले सकेसम्म सहमतिको प्रयास नभए निर्वाचन गरेरै भए पनि नेतृत्व छान्ने बताएका छन् । माओवादीले चुनावमै जाने निर्णय गरे पनि काँग्रेस र एमालेमा जस्तो पदाधिकारीहरूको चुनाव भने महाधिवेशनका १७४२ प्रतिनिधिले गर्ने छैनन् । हलबाट चुनिएका २९९ जना केन्द्रीय कमिटी सदस्यहरूले मात्रै पदाधिकारीको चुनावमा भाग लिन पाउने छन् ।

माओवादीले १ हजार ७ सय ४२ प्रतिनिधिले नै भोट हाले ठुला नेता हार्ने जोखिम बढेको भन्दै हलबाट २९९ जना केन्द्रीय कमिटी सदस्यहरुले मात्रै पदाधिकारीको चुनावमा भाग लिन पाउने भएका छन् ।

माओवादीले पुराना सबै नेतालाई केन्द्रीय कमिटीमा राख्ने प्रयास गरेको छ ।अब संशोधित विधानको व्यवस्थाअनुसार खुल्लातर्फ १४५ र समावेशी समानुपातिकतर्फ १५४ गरी २९९ केन्द्रीय सदस्यहरू हलले चुन्ने छ ।

सहमतिका आधारमा केन्द्रीय कमिटी चयन भयो भने हाल आयोजक समितिमा रहेका १८५ जनालाई नै समेट्ने माओवादीको तयारी छ । यसो गर्दा नयाँ ११४ मात्रै केन्द्रीय कमिटीमा आउनेछन् ।

तर, केन्द्रीय कमिटीको प्यानलमा सहमति जुटेन भने खुल्ला प्रतिस्पर्धा हुँदा वर्तमान केन्द्रीय कमिटीमा रहेका १८५ मध्येबाटै धेरै नेता हार्ने जोखिम रहेको नेताहरू बताउँछन् ।

  • १८ पुष २०७८, आईतवार १०:३१ प्रकाशित