राजावादी, एमाले र भारत एकै ठाउँमा : केसी

केन्द्रभाग मिडिया

पोखरा ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा प्रतिगमनको खतरा झनै बढेर गएको बताएका छन् । पार्टी निकट सांस्कृतिक संगठन रक्तिम सांस्कृतिक अभियानले बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै केसीले यस्तो बताएका हुन् ।

उनले राजावादीहरु, एमाले र भारतको संस्थापन पक्ष नेपालमा प्रतिगम फर्काउन एक ठाउँमा आएको आरोप लगाए । नेपालमा हिन्दु सापेक्ष राज्य कायम गर्न र राजतन्त्र फर्काउन उनीहरुले एकीकृत प्रयास गरिरहेको केसीको भनाई थियो ।

केसीले प्राप्त उपलब्धिहरुको रक्षा गर्दै त्यसैको जगमा टेकेर जनवादी क्रान्तिको दिशामा अगाडि बढ्नुपर्ने बताए । उनले पश्चिमी छाडा संस्कृतिको विरुद्धको भ्रम चिर्न जनवादी संस्कृतिको उदय भएको बताउँदै रक्तिमका कलाकारहरुलाई क्रान्तिको झिल्को भएर फेरि देशमा उदाउन आग्रह गरे।

कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्मा, राजमो नेता सुरेश थापा, अखिल (छैठौं) का केन्द्रीय सदस्य सागर बेलबासे लगायतले शुभकामना मन्तव्य दिएका थिए।

  • १० आश्विन २०७९, सोमबार १७:२१ प्रकाशित