देविनगरमा देवि भागवत महापुरण महायज्ञको तयारी पुरा

केन्द्र खबर

बुटवल ।

बुटवल उप–महानगरपालिका –११ देविनगर स्थित श्री नवदुर्गा मन्दिर समितिको आयोजनामा श्रीमद् देवि भागवत महापुरण महायज्ञको तयारी पुरा भएको छ ।

लुम्विनी वाणिज्य क्याम्पस अगाडी मन्दिर परिषरमा ९ दिन सम्म संचालन हुने उक्त महापुरणको तयारी पुरा भएको समितिले जनाएको छ । महापुरण तथा कथा प्रवचनको सन्दर्भमा जानारी दिन आईतवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अर्जुन कुंवरले तयारी पुरा भएको र सोमवार घटस्थापनादेखि महापुरण यज्ञ शुरु हुने बताए ।

वि सं २०२२ सालमा यस क्षेत्रका धार्मिक व्यक्तिहरुको पहलमा तिलोत्तमा गंगा किनारमा निर्मित उक्त मन्दिर २०७३ मा जिर्णोद्धार गरी हरेक वर्ष दुर्गा पुजन गरिदै आएको छ । २०३८ सालको वाढीले समेत यस मन्दिरले चर्चेको भूभाग कटान गर्न नसकेको कारण यस क्षेत्रमा देविको शक्ति रहेको विश्वास गरी यस क्षेत्रको नाम देविनगर रहन गएको स्थानिय बताए । मन्दिरको एतिहासिक तथा पौराणीक महत्वलाई उजागर गर्न महायज्ञ गर्न लागिएको अध्यक्ष कुंवरले जानकारी दिए। श्रृङगेश्वरधामका गुरुदेव त्रिकालदर्शी युवा ज्योतिषविद आचार्य दुर्ग प्रसाद भट्टराई (उपाध्याय)को मुखारविन्दबाट संगितमय कथाबाचन हुने समितिका सचिव रविलाल पोख्रेलले जानकारी दिए ।

महायज्ञका संयोजक तथा समितिका सल्लाहकार यज्ञश्वर मरासिनीले १० गते विहान वाजागाजा र भजनकृतनको साथमा भव्य कलश यात्रा घटस्थापना, व्यास पुजन तथा पाठपारायण शुभारम्भ हुने जानकारी दिए । उहांको अनुसार असोज १६ गते वाजागाजा सहित फुलपाती भित्राउने १९ गते दुर्गा विसर्जन तथा टिका प्रसाद ग्रहण र अशोज २३ गते कोजाग्रत पुर्णिमाको दिन सरायनाच । फुलपाती विसर्जन गरिने छ । त्यसवाहेक दैनिक धार्मिक कार्यक्रम संगितमय कथा वाचन कार्यक्रम रहनेछ । समितिका बरिष्ठ उपाध्यक्ष कुल बहादुर केसीले नवदुर्गा मन्दिरको प्रचार प्रसारमा पत्रकार र मिडियाले महत्वको साथ लिएको बताउदै धन्यवाद दिए।

कोषाध्यक्ष तथा आर्थिक संयोजक राधा पौडेलले मन्दिरको नियमित कर्मको लागि आर्थिक अवस्था कमजोर रहेको र भक्तजनहरुको सहयोगबाट मन्दिर संचालन गरिएको बताए । नेपाल पत्रकार महासंघ लुम्विनीका महासचिव विक्रम खड्का, समितिका सदस्य तथा मिडिया संयोजक रुद्रहरि कुंवरले धार्मिक कार्यक्रम मार्फत सवैलाई सत्मार्गमा लैजान टेवा पुग्ने र मन्दिरको एतिहासिक तथा धार्मिक महत्वको अझै उजागर हुने विश्वास व्यक्त गरे ।

  • ९ आश्विन २०७९, आईतवार १७:२० प्रकाशित