यी दुई क्षेत्रका निर्वाचन अधिकृत दुई दिनमै फेरिए

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले २ दिनमै निर्वाचन अधिकृत हेरफेर गरेको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको दोस्रो दिनमै आयोगले दुई वटा क्षेत्रका अधिकृत हेरफेर गरेको हो ।

असोज ११ गतेदेखि लागू हुने गरी इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा खटाइएका सर्वोच्च अदालतका उपसचिव देवेन्द्र ढकाललाई हटाइएको छ । उनको ठाउँमा सर्वोच्चकै उपसचिव राजकुमार दाहाललाई खटाइएको छ ।

यस्तै बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा खटाइएका उच्च सरकारी वकिल कार्यालय बागलुङका अशोकराज रेग्मीलाई पनि हटाइएको छ । उनको ठाउँमा जलस्रोत तथा सिंचाइ विभागका कानूनतर्फका उपसचिव बाबुराम पाण्डेलाई खटाइएको आयोगले जनाइको छ ।

आयोगले बुधबारमात्रै ७७ जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र बाँकी ८८ वटा निर्वाचन क्षेत्रमा न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका उपसचिवलाई निर्वाचन अधिकृत तोकेको थियो ।

  • ७ आश्विन २०७९, शुक्रबार १५:३३ प्रकाशित