सत्तारुढ ४ दलको निष्कर्ष : राष्ट्रपतिको कदमले संसदको घोर अपमान

केन्द्र खबर

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक प्रमाणीकरण नगरेपछि सत्तारुढ दल यतिबेला रुष्ट बनेको छ ।

राष्ट्रपतिको निर्णयका बारे छलफल गर्न बिहान सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । चार राजनीतिक दलले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले संसदको घोर अपमान भएको निष्कर्ष निकालेको छ । भण्डारीको निर्णयले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयुक्त विज्ञप्ति जारी गरी राष्ट्रपतिले संविधानको पालना गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरेको हो ।

‘राष्ट्रपतिको यो गैर संवैधानिक कदमबाट जनतले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको छ’ प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सत्तारुढ गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भने संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेको छैन ।

  • ५ आश्विन २०७९, बुधबार १४:०२ प्रकाशित