पोखरा ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशको समृद्धिका लागि धेरै गर्न बाँकी रहेको बताएका छन् । संविधान दिवस २०७९ का अवसरमा गण्डकी प्रदेश सरकार मुल समारोह समितिद्वारा पोखरामा सोमबार आयोजित विशेष कार्यक्रममा गुरुङले यस्तो बताएका हुन् ।
उनले जनताको अपेक्षा पुरा गर्न प्रदेश सरकार निकै गम्भिर बन्नुपर्ने धारणा राखे । बलिदानीपूर्ण संघर्षबाट राजनीतिक परिवर्तन भएको बताउँदै आम सर्वसाधारणको दैनिकीमा परिवर्तन आउनेगरी अघि बढ्नु अहिलेको आवश्यकता भएको उनको भनाइ छ । प्रदेश प्रमुख गुरुङले संविधान निर्माणपछिका दिनमा नेपाली जनताले चाहेअनुसार उपलब्धि हासिल गर्न नसकेको बताए ।
वर्तमान संविधानले सामन्ती, निरंकुश र केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरेको उल्लेख गर्दै विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा जोडेको उनले बताए ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानले राजनीतिक मुद्दा टुंग्याएको बताए । अब भने आर्थिक क्रान्ति गर्नुपर्ने उनको भनाई छ । पाँच वर्षमा नै समग्र प्रदेशको समिक्षा गर्ने बेला भइनसकेको भन्दै उनले सुन्यबाट सुरु भएको प्रदेश संरचनाका धेरै आधार खडा भएका उल्लेख गरे ।
प्रदेश सरकारले जनतामा उत्साह हुनेगरि नै काम गरेको उनको दाबी छ । सडक, खानेपानीका पूर्वाधार, गण्डकी विश्वविद्यालयको स्थापना र सञ्चालनका साथै प्रशिक्षण प्रतिष्ठान निर्मांणले प्रदेशलाई चिनाउने काम भएको उनको भनाई छ । यद्यपी केही कमि-कमजोरी भएका हुनसक्ने भन्दै समग्रमा प्रदेश सरकार सफल रहेको उनको दाबी छ ।