पोखरा ।
छैटौं साफ महिला च्याम्पियनसिप फूटबलको उपाधिका लागि आज फाइनल खेल हुँदैछ । उपाधिका लागि नेपालले बंगलादेशसँग दशरथ रंगशालमा खेल्दैछ । दुवै देशले यसपालीका उपाधि जित्ने दाबी गरेका छन् ।
आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने बताए । नेपाल भारतलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।
नेपाली टिमका प्रशिक्षक कुमार थापाले नेपाली टिम कुनै पनि मूल्यमा उपाधि जित्नका लागि मैदानमा उत्रने बताए । ‘हामी उपाधिका लागि सबै अर्थमा तयार छौं, हामी मानसिक, मोटिभेसनल, फिजिकल र अनुभवका आधारमा पनि जित निकाल्न तयार छौं।’ उनले टिम अहिले अर्जुन दृष्टि राखेर उपाधिको तयारी गरिरहेको बताए ।
उनले समर्थकको साथले उपाधि उचाल्ने दाबी गरे । थापाले भने‚ ‘समर्थकले हामीलाई ऊर्जा दिन्छन्‚ हामी उहाँहरूलाई उपाधि दिन्छौं।’ उनले समर्थकको साथ थप शक्तिका रुपमा रहेको बताए।
कप्तान एन्जिला तुम्बाम्पो सुब्बाले बोलेर भन्दा खेलेर प्रमाणित गर्ने बताइन् । उनले भनिन्‚ ‘हामी सक्छौं‚ हामी गर्छौं भन्ने नारा नै रहेको र हामी गरेर देखाउँछौं।’ उनले टिम वर्कले उपाधि जित्ने सपना पूरा गर्ने विश्वास ब्यक्त गरिन् ।
बंगलादेशका प्रशिक्षक गोलम रोबानीले टिम राम्रो लयमा रहेको भन्दै नेपाललाई फाइनलमा हराएर उपाधि उचाल्ने बताए । उनले भने‚ ‘हामी उपाधिका लागि लगातार राम्रो प्रदर्शन गर्दै आएका छौं। हामीले गरेको तयारी र प्रयासअनुसार नै फाइनलसम्मको यात्रा तय गरेका छौं। अब उपाधि पनि जित्छौं ।’
बंगलादेशकी कप्तान सविना खातुनले टिमको राम्रो तयारीले जित निकाल्ने बताए। ‘हाम्रो अनुभव र युवाहरू समावेश टिमले अघिल्ला खेलहरूमा राम्रो नतिजा दिएको छ र फेरि पनि त्यस्तै नतिजा दोहोर्याउँछौं‚’ उनले भनिन् ।