पोखरा ।
सुन्दर नगर, गण्डकी प्रदेशको राजधानी अनि पर्यटकीय आकर्षणको केन्द्र पोखरामा एउटा पनि सम्मेलन केन्द्र नहुँदा चाहेरपनि अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन गर्न नपाइएका गुनासो अब सुनुवाई हुनेभएको छ । त्यो अभाव पूर्ति गर्न पोखरामा ठूलो क्षेमताको सम्मेलन केन्द्र बन्ने भएको छ । पोखरा-९ नयाँ बजारमा हाल प्रदर्शनी केन्द्र रहेको जग्गामा पोखरा सम्मेलन केन्द्र निर्माणका लागि डिपिआर तयार भएको छ ।
त्यसलाई अन्तिम रुपम दिन भने बाँकी रहेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका प्रमुख सुरोज पौडेलले जानकारी दिए । ‘हाल प्रदर्शनी केन्द्र रहेको ३३ रोपनी जमिनमा पोखरा सम्मेलन हल निर्माणका लागि डिपिआर बनेर त्यसलाई अन्तिम रुप दिने क्रममा छौं’ उनले भने ।
यसका लागि संघीय सरकारले चालु आर्थिक वर्षका लागि १७ करोड रुपैयाँ छुट्याएको पनि उनले जानकारी दिए । सम्मेलन केन्द्रका लागि झण्डै एक अर्व ६१ रुपैयाँ खर्च लाग्ने आनुमान गरिएको छ ।
संघीय योजना कार्यान्वयन इकाई कास्कीका सुचना अधिकारी एवं इन्जिनियर रामकृष्ण गिरीका अनुसार ३३ रोपनी मध्य ९ रोपनी क्षेत्रफलमा बेसमेन्टसहितको हल बन्ने छ । उक्त हलमा ४ वटा ५० देखि १०० जनासम्म अट्ने साना हल र एउटा दुई हजार क्षेमताको ठूलो हल निर्माण हुनेछ ।
प्रदर्शनी स्थल पनि उक्त ठाउँमै रहने छ । ‘प्रर्दशनी केन्द्रको ३३ रोपनी जमिन मध्ये ९ रोपनी क्षेत्रफलमा संरचना निर्माण गछौं । बाँकीमा पार्किङ र प्रदर्शनी गर्ने स्थल पनि रहन्छ’ उनले भने ।
पार्किङ स्थल र चमेनागृह सहितको हल निर्माणका लागि डिपिआरलाई अन्तिम रुप दिएर ठेक्का प्रक्रियामा छिट्टै लगिने उक्त आयोजना हेरेकी आर्किटेक इन्जिनियर रेखा लामिछाने वाग्लेले जानकारी दिइन् ।
बहुवर्षीय आयोजना अन्तर्गत निर्माण हुने उक्त हल तीन वर्षभित्र सक्ने योजना रहेको उनले जानकारी दिइन् । ‘अब डिपिआरलाई अन्तिम रुप दिएसंगै छिट्टै यसको निर्माण प्रक्रिया थालनी गछौं । अबको तीन वर्षभित्रमा पोखरेलीले सुविधा सम्पन्न सम्मेलन केन्द्र प्राप्त गर्नुहुनेछ’ उनले भनिन् ।