पोखरा ।
संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सकेर जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु फर्केका छन् । अध्यक्ष ली चान्शुलाई सभामुखले आज विहान ८ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।
अध्यक्ष ली चान्शु यही भदौ २७ गते अपरान्ह ३ः३० बजे नेपाल भ्रमणमा आएका थिए । नेपाल भ्रमणको पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटा, भ्रमणको दोस्रो दिन राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधानमन्त्री शेर बहादुर देउवासंग भेटवार्ता भएको थियो ।
भ्रमणको तेस्रो दिन लीले भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन भ्रमण र राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए।
छिमेकी चीनबाट भएको उच्चस्तरीय भ्रमणका क्रममा बनेको अन्तरसंसदीय सहकार्य सम्बन्धी समझदारी भएको छ ।