पेट्रोलियम ढुवानी व्यवसायीलाई कारबाही गर्ने निगमको चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलियम ढुवानी व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

एक विज्ञप्ति जारी गर्दै निगमले आन्दोलनका सबै कार्यक्रम तत्काल रोक्न र नरोके कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो ।
व्यवसायीको आन्दोलनका कारण देशभरका विमानस्थलमा हवाई इन्धन अभाव भएको निगमले जनाएको छ ।

चाडपर्वको मुखैमा नयाँ उडान थप गर्न र फ्लाइट संख्या बढाउन लागेका विमान कम्पनीलाई निगमले हवाई इन्धन आपूर्ति गर्न नसकिने जानकारी गराउनु परेको पनि निगमले जनाएको छ ।

व्यवसायीको माग सम्बोधन गर्न निगमले प्रयाप्त छलफल गरेको निगमका वितरण विभाग प्रमुख वीरेन्द्र गोइतले विज्ञप्तिमार्फत स्पष्ट पारेका छन् ।

पेट्रोलियम पदार्थको मूल्य बढेअनुसार ढुवानी भाडा समायोजन नभएको भन्दै नेपाली कांग्रेस निकट पेट्रोलियम व्यवसायीहरु आन्दोलनमा छन् । १७ भदौदेखि उपत्यकाबाहिरका विमानस्थलको हवाई इन्धन ढुवानी ठप्प बनाएका उनीहरुले आइतबारदेखि पेट्रोलियम पदार्थको पीडीओ उठाएका छैनन् ।

उनीहरुले १ असोजदेखि देशैभरको ढुवानी ठप्प पार्नेसहितको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

  • २९ भाद्र २०७९, बुधबार १५:०६ प्रकाशित