मौजाबासीसँग मन्त्री थापाले भने : ‘सडक,सिँचाई, खानेपानी,शिक्षा लगायत समस्याको समाधान गर्छु’

केन्द्र खबर

पोखरा ।

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले मौजाबासीका समस्यालाई समाधान गर्न आफु प्रतिबद्ध रहेको बताएका छन् ।

सोमबार पोखरा २० मौजामा आयोजना गरिएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘मौजामा देखिएको सडक, सिँचाई, शिक्षा, खानेपानी लगायतका समस्यालाई समाधान गर्न म तत्पर छु । स्थानीयहरुको साथ समर्थन र सहयोगले नै विकास सम्भव छ ।’, उनले भने।

मन्त्री थापाले विकासमा राजनीति नगर्न आग्रह गरेका छन । विकास जसले गरे पनि गाउँको भलो हुने हुँदा राजनीति गर्नुको तुक नरहेको उनले उल्लेख गरे ।

एकतामा नै बल हुने हुँदा सबै मिलेर गाउँको समस्यालाई समाधान गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याए । मन्त्री थापाले प्रदेश सरकार विकासको बाधक नभएको प्रष्टाए । उनले स्थानीय सरकारसँग समन्वय गर्दै मौजाको समस्यालाई समाधान गर्ने बताए ।

मन्त्री थापाले काहुँखोला, आर्वा, लामडाँडा हुँदै मौजा पुग्ने बाटोको समेत निरिक्षण गरेका छन् । उनले स्थानीयलाई डिपीआर तयार गर्न निर्देशन समेत दिएका छन् । ‘काहुँखोला, आर्वा, लामडाँडा हुँदै मौजा पुग्ने बाटोको अवस्था खराब रहेछ । यसको स्तरउन्नतिका लागि डिपीआर तयार गरेर आउनुहोस् । आवश्यक बजेट विनियोजन गरौंला ।’,उनले भने

मन्त्री थापाले मौजालाई पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गर्न सकिने उल्लेख गरे ।कार्यक्रममा राष्ट्रिय भूमी आयोग कास्कीका प्रवक्ता आश बहादुर गुरुङले स्थानीयको चाहानाअनुरुप नै आफुले काम गर्दै आएको बताए । उनले आयोगले भुमिहिन दलित र भुमिहिन सुकुम्बासीलाई पहिलो प्राथामिकतामा राखेर जग्गा उपलब्ध गराउँदै आएको बताए।

  • २७ भाद्र २०७९, सोमबार १६:२५ प्रकाशित