काठमाडौं ।
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’लाई डेंगी संक्रमण भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार साम्बालाई डेंगी लागेको आइतबार पुष्टि भएको हो। उनको स्वास्थ्य अवस्था सामान्य भएकाले अस्पताल भर्ना गरिएको छैन।
काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपका दौरान साम्बालाई डेंगी भएपछि उनी बाँकी खेलका लागि फिट हुने शंका बढेको छ।
समूह ‘बी’मा रहेको नेपालले आज साँझ ५: ३० बजे आफ्नो अन्तिम लिग खेलमा श्रीलंकासँग खेल्दैछ। बराबरी गरे समूह विजेता हुने यो खेलमा नेपालले साम्बालाई नखेलाउने बुझिएको छ।
यसअघि भुटानविरुद्धको पहिलो खेलमा नेपालले ४-० को जित निकाल्दा साम्बाले दुई गोल गरेकी थिइन्।सेमिफाइनल पुगेको अवस्थामा नेपालले शुक्रबार खेल खेल्नेछ। सो खेलका लागि भने साम्बा फिट हुने नेपाली टिमको आसा छ।
साफको फाइनल भने अर्को सोमबार हुनेछ।