संविधान दिवसको अवसरमा एमालेले पदयात्रा गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

संविधान दिवसको अवसरमा नेकपा एमालेले पदयात्रा गर्ने भएको छ । संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा विशेष कार्यक्रमका बीच पदयात्रा गर्ने जनाएको छ ।

निर्वाचन आयोगले असोज ३ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने मिति तोकेकाले असोज १ गते उपत्यकामा हजारौंको सहभागितामा वाकथन (पदयात्रा) आयोजना गर्ने निर्णय भएको सो पार्टीले जनाएको छ ।

उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट सुरू हुने वाकथनको वसन्तपुर पुगेर विसर्जन गर्ने कार्यक्रम तय गरिएको छ । पार्टी अध्यक्ष केपी ओलीले वसन्तपुरमा सम्बोधन गरी कार्यक्रम समापन गरिनेछ ।

संविधान दिवसका अवसरमा आयोजित यस कार्यक्रमलाई पार्टीको घेराभित्र सीमित नगरिएको र देशभक्त, सामाजिक क्षेत्र, पेशा, व्यवसायमा संलग्न तथा एमालेप्रति शुभेच्छा राख्ने आम समुदायलाई सहभागिताका लागि आह्वान गरिएको उपमहासचिव विष्णु रिमालले बताए ।

  • २७ भाद्र २०७९, सोमबार १४:३९ प्रकाशित