आज नेपाल आउँदै चिनियाँ सभामुख ली : यस्तो छ कार्यसुची

केन्द्र खबर

काठमाडौं ।

चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउँदैछन् ।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली औपचारिक नेपाल भ्रमणका लागि आज (सोमबार) नेपाल आउँन लागेका हुन् । लीसहितको चिनियाँ प्रतिनिधिमण्डल तीनदिने भ्रमण आउन लागेको र उनीहरु भदौ २९ गतेसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयको भनाइ छ ।

सोमबार नै सभामुख सापकोटा र चिनियाँ नेता लीबीच भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ । सभामुख सापकोटाले लीको सम्मानमा साँझ रात्रिभोजको आयोजना गर्नेछन् ।

मङ्गलबार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग छुट्टाछुट्टै भेट गर्नेछन् । बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यसूची रहेको छ ।

नेपाल भ्रमणका क्रममा अध्यक्ष लीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् ।

  • २७ भाद्र २०७९, सोमबार ०८:४० प्रकाशित