काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजावेथ द्वितीयाको निधनप्रति गहिरो दुः ख व्यक्त गरेका छन् ।
शनिबार बिहान लैचचौरस्थित बेलायती राजदूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गदैँ प्रधानमन्त्री देउवाले महारानीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
बेलायतमा सबैभन्दा लामो ७० वर्ष राजकाज सम्हाल्नुभएका महारानीको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।
यसअघि ट्विटरमार्फत प्रधानमन्त्री देउवाले दिनुभएको शोक सन्देशमा महारानी एलिजावेथमा अन्य संस्कृति र मानवताप्रतिको दया, सादगी र सम्मान जस्ता गुणहरु रहेका कारण नेपाली जनताले महारानीलाई मायापूर्वक सम्झन्छन् ।
प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘‘उनको निधनले नेपाल र नेपाली जनताले एक महान् प्रशंसक गुमाएको छ, म राजपरिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’’
रानी एलिजावेथ द्वितीयाले सन् १९६१ र १९८६ मा दुई पटक नेपालको औपचारिक राजकीय भ्रमण गरेकी थिइन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गर्दै शुक्रबार लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेकी थिइन् ।