हस्पिटलचोकमा श्रीवृद्धिको शिविर

केन्द्रभाग मिडिया

पोखरा ।
सामाजिक उत्तरदायित्व वहन गर्दै श्रीवृद्धि बचत तथा ऋण सहकारी पोखरा १० ले हस्पिटलचोकमा निशुल्क शिविर आयोजना गरेको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) हस्पिटलचोक शाखाको प्राविधिक सहयोगमा भएको शिविरमा ४ सय २२ जनाको सित्तैमा मधुमेह, रगतमा हुने खराब बोसो (टिजी) को रगत जाँच र पिसाब जाँच गरिएको छ ।

कार्यक्रममा वरिष्ठ फिजिसियन प्राडा बुद्धिबहादुर थापाले केही रोग अन्तर्सम्बन्धित भएको र एउटा लागेपछि अर्को रोग लाग्ने जोखिम हुने बताए । उनले नेपालमा सरुवा रोगको प्रकोप कम भएको देखिए पनि नसर्ने रोगले धेरैलाई पीडित बनाएको उल्लेख गरे । सर्वसाधारणले रोग लागेपछि मात्र होइन, बेला बेलामा स्वास्थ्य जाँच गराई तन्दुरुस्त रहनुपर्नेमा उनले जोड दिए ।

श्रीवृद्धि सहकारीका अध्यक्ष मीनबहादुर गुरुङले युआरएलसँग सहकार्य गरी सामाजिक उत्तरदायित्व वहन गरिएको बताए । उनले राज्यले जिम्मा लिनुपर्ने स्वास्थ्य क्षेत्रमा जनताको पहुँच कम हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटरसमेत रहेका गुरुङले नागरिक र संघ, संस्थाले यस खालका कार्यक्रम गर्दा धेरै सेवाग्राही लाभान्वित हुने सुनाए ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा विश्वराज बरालले अव्यवस्थित जीवनशैली र खानपिनका कारण नेपालमा मुटुरोगी बढ्दै गएको उल्लेख गरे । उनले खानपान, जीवनशैली सुधार गर्दै हृदयघात, हार्टफेलियर जस्ता समस्याबाट जोगिन सर्वसाधारणमा अनुरोध गरे ।

श्रीवृद्धि सहकारीकी सञ्चालक समिति सदस्य डा . विनिता शर्मा कोइरालाले ससानो हेलचेक्र्याईले बिग्रिने स्वास्थ्य कतिपय अवस्थामा जतिसुकै खर्च गरे पनि पूर्ववत् अवस्था आउन नसक्ने औंल्याइन् ।

युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले रोग लाग्नुभन्दा पनि रोग लाग्नै नदिन विभिन्न संघ, संस्थासँग सहकार्य र आफ्नै आयोजनामा समेत निशुल्क शिविर गर्दै आएको उल्लेख गरे । युआरएलले अहिलेसम्म १ सय ११ औं शिविरमा केही रोगका निशुल्क रगत जाँच गर्दै आएको छ । अहिलेसम्म ८० हजारले निशुल्क सचेतना र शिविरमा भाग लिएका छन् ।

शनिबार रगत जाँच गराएकालाई आगामी शुक्रबार विशेषज्ञको परामर्शसहित रिपोर्ट वितरण गरिने आयोजकले जनाएको छ । विशेषज्ञको परामर्शसमेत निशुल्क हुनेछ । वरिष्ठ फिजिसियन प्राडा बुद्धिबहादुर थापा र स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा. कृष्णराज अधिकारीले रिपोर्ट लिन आउने सर्वसाधारणलाई परामर्श दिने छन् ।

  • २८ फाल्गुन २०७८, शनिबार १९:४७ प्रकाशित