पञ्जाबमा आम आद्मी पार्टीले पायो दुई तिहाइ मतः अन्य प्रदेशमा कसले जिते? सूचीसहित

केन्द्रभाग मिडिया

आम आद्मी पार्टी आपले पञ्जाबमा दुई तिहाइ मत पाएको छ । बिहीवार सम्पन्न विधान सभाको मतगणना अनुसार पञ्जाबमा आपले दुई तिहाइ सिट जितेको हो ।भारतको दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालले गरेको विकास र सुशासनको कारण पञ्जाव दुई तिहाई आएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

१ सय १७ सदस्यीय पञ्जाब विधान सभामा आपले ९२ सिट जितेको छ । दिल्लीमा जस्तै गरिब नागरिकलाई शिक्षा, स्वास्थ्य, खानेपानी र बिजुली निस्शुल्क दिने, भ्रष्टाचार अन्त्य गर्ने र पञ्जाबको विकासलाई नयाँ मार्गबाट अघि बढाउने घोषणा गरेका आम आद्मी पार्टीका संयोजक अरविन्द केजरीवालको वाचालाई पञ्जाबका नागरिकले सजिलै विश्वास गरेका छन् । अब पञ्जाबमा कलाकारिता क्षेत्रबाट राजनीतिमा आएका आम आद्मी पार्टीका भगवन्त सिंह मान मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

यस्तै उत्तर प्रदेशमा भारतीय जनता पार्टी भाजपाकै सरकार दोहोरिने भएको छ । उत्तर प्रदेशमा चार सय तीन सिटमध्ये भाजपाले दुई सय ७४ सिट जितेको छ । अखिलेश यादव नेतृत्वको समाजवादी पार्टीले एक सय २४ सिट जित्यो भने कांग्रेस दुई सिटमै सीमित हुन पुग्यो ।

उत्तराखण्डमा पनि भाजपाले नै बहुमत ल्याएको छ । त्यहाँ भाजपाले ४८ र कांग्रेसले १८ सिटमा जित हात पारेको छ। मणिपुरमा पनि ६० सिटमध्ये भाजपाले ३२ सिट ल्याएको छ । गोवामा ४० सिटमध्ये भाजपाले २० सिट जितेको छ, तर सरकार बनाउन भाजपालाई एक सिट नपुग्ने भएको छ।

  • २७ फाल्गुन २०७८, शुक्रबार ०९:५९ प्रकाशित